समाचारशुक्रबार, बैशाख २५, २०७२
संकटग्रस्त जिल्ला बढाउन माग
नेकपा एमाले ‘भूकम्पपीडित उद्धार तथा राहत समन्वय समिति’ले संकटग्रस्त जिल्ला बढाउन माग गरेकाे छ ।
पार्टीका अध्यक्ष केपी ओलीसमक्ष तत्काल गर्नुपर्ने निर्णय तथा चालिनुपर्ने कदमका सम्बन्धमा आफ्ना दसबुँदे सुझाव दिदै समितिले लम्जुङ र सोलुखुम्बुलाई पनि ‘सङ्कटग्रस्त जिल्ला’ घोषणा गर्न सुझाएको छ ।
समितिले राहत र पुनस्र्थापना कार्यलाई प्रभावकारी बनाउन आग्रह गरिएको उक्त सुझाव र ध्यानाकर्षणपत्रबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री गृहमन्त्री वामदेव गौतमलाई पनि बोधार्थ दिइएको छ ।
समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा यसबीचमा बसेका बैठकबाट प्राप्त सूचना, जानकारी तथा सुझावलाई ध्यानमा राखी भूकम्पजस्ता विपद् व्यवस्थापनसम्बन्धी सरकारको तयारी निकै कमजोर देखिएको र यससम्बन्धी संरचना, बन्दोबस्तीका सामग्री र अन्तर्राष्ट्रिय समन्वयमा पनि धेरै सुधार गर्नुपर्ने ठहर गरिएको छ ।
भूकम्पको १३ दिन बित्न लाग्दा पनि कतिपय ठाउँमा राहत सामग्री नपुगेको, पछिल्लो समय राहत सामग्री प्रायः सुगम ठाउँमा पुग्ने, त्यहीँ थुप्रिने, खाद्य सामग्री आवश्यकताभन्दा बढी जम्मा हुने तर दुर्गम ठाउँका कतिपय पीडितले राहत सामग्री लिन कयौँ घन्टा हिँड्नु परेको गुनासा विभिन्न ठाउँबाट थपिँदै गएको समितिले जनाएको छ ।
