समाचारआइतबार, बैशाख २७, २०७२

उत्तरी गोरखा–तिब्बती नाका खुलाउने प्रयास

हिमालखबर

उत्तरी गोरखाका भूकम्पपीडितलाई भोकमरीबाट जोगाउन तिब्बतको नाका खुलाउने प्रयास शुरु गरिएको छ ।

उत्तरी गोरखाका छेकम्पार र सामागाउँ गाविसस्थित दुई नाका खुलाउने प्रयास शुरु गरिएको प्रजिअ उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिए ।
नाका खुलाउन जिल्लास्तरबाट सर्वपक्षीय निर्णय गरी गृह मन्त्रालय पठाइसकिएको तिमल्सेनाले बताए ।

भूकम्पले क्षतिग्रस्त उत्तरी गोरखाको सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास आदि गाविसमा पर्याप्त मात्रामा खाद्यान्नलगायत राहत सामग्री वितरण हुन सकेको छैन ।

ती नाका वर्षमा एक पटक साउन महिनामा मात्रै खुल्ने गरेको छ । नाका खुलेपछि उत्तरी गोरखाका भूकम्पपीडितले तिब्बती बजारबाट खाद्यान्नलगायत सामग्री किनमेल गर्न पाउँछन् ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले हेलिकोप्टरको अपर्याप्तताले गर्दा उत्तरी भेगमा राहत सामग्री ढुवानीमा समस्या भएको जनाएको छ । मोटरबाटो नभएको उत्तरी गोरखाका १८ गाविसमा राहत सामग्री पुर्‍याउन हेलिकोप्टरको भर पर्नुपर्छ तर पर्याप्त हेलिकोप्टर नहुँदा भूकम्पपीडित अझै पनि त्रिपालको पर्खाइमा रूखमुनि बास बसेका छन् ।

अहिलेसम्म हेलिकोप्टरले ढुवानी गरी उत्तरी गोरखा पुर्‍याएको खाद्यान्न अपर्याप्त भएको भूकम्पपीडितले जनाएका छन् । लाखौँ खर्च गरी हेलिकोप्टरबाट हजारौँको सामान ओसार्नुभन्दा खच्चर हिँड्ने बाटो (मनास्लु पदमार्ग)मा गएको पहिरो हटाउन भूकम्पपीडितले माग गरेका छन् । नेपाली सेनाको टोलीले पदमार्ग खुलाउने तयारी गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>