समाचारआइतबार, बैशाख २७, २०७२
भूकम्पपीडितलाई टेलिकमको सत्ताइस करोड सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमले रु २७ करोड एक लाख ५७ हजार हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री सुशील कोइरालालाई २७ वैशाखमा टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनीलबहादुर मल्लले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
टेलिकमले कम्पनीका तर्फबाट रु २५ करोड, कम्पनीमा कार्यरत कर्मचारीको तलबबाट कट्टी गरिएको रु दुई करोड ७५ हजार ४७४ र ९६ पैसा र सञ्चालक समितिका पदाधिकारीको तीनवटा बैठक भत्ता बराबरको रु ८१ हजार ६०० गरी रु २७ करोड एक लाख ५७ हजारको चेक हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।
टेलिकमले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेका काठमाडौँको धरहरा, गोरखाको मनकामना मन्दिर, काठमाडौँको स्वयम्भूनाथ, ललितपुर र भक्तपुरको दरबार स्क्वायर एवम् भूकम्पबाट अतिप्रभावित क्षेत्रका सामुदायिक विद्यालयको पुनःनिर्माणका लागि तीन वर्षभित्र रु एक अर्ब खर्च गर्ने पनि आचार्यले बताए ।
यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले रु पाँच करोडको चेक र एसियन डिस्टीलरीका अध्यक्ष विजय साहले रु एक करोड पाँच लाखको चेक पनि कोषमा जम्मा हुने गरी प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।
रासस
