समाचारसोमबार, बैशाख २८, २०७२
जन्तीलिएर गएका बेहुलाको प्रहरी चौकीमा बास

प्रहरी चौकीमा २२ वर्षीय बेहुला ललन ।
जन्ती र बाजागाजा सहित बेहुली लिन गएका रौतहटका एक बेहुलाले बेहुली त पाएनन् नै उल्टो एकरात प्रहरी सुरक्षामा विताउनु पर्यो ।
रौतहटको प्रेमपुर, गोनाही– ६ बाट ललनकुमार भगत माली वरियारपुर–६ चिलमिलिया टोलस्थित बेहुलीको घरमा जन्ती लिएर पुगे ।
२७ वैशाख राति ९ बजे बेहुलीको घर पुगेका जन्तीको स्वागत सत्कार हुँदै थियो, त्यसैबेला कसैले बेहुलाको अर्कै केटीसँग प्रेम रहेको बेहुलीपक्षलाई सुनाइदिए ।
बिहेको कुरा छिन्दा नै डेढ लाख नगद र जिन्सी सामान दाइजो दिएका बेहुली पक्ष आत्तिए । उनीहरुले विवाह रद्द गर्दै दाइजो फिर्ता माग्न थाले । बेहुला पक्ष भने बेहुली लिएरै जाने भन्दै बेहुली पक्षलाई सम्झाईबुझाई गर्न लागे पनि विवाद बढदै गयो । दुवै पक्षबीच झडप हुँदा बेहुला पक्षलाई उद्धार गर्न प्रहरी नै आउनु पर्यो ।
वरियारपुर प्रहरी कार्यालयको टोलीले बेहुलीको घरबाट बेहुला ललनकुमार, उनका बाबु बिगु भगत, काका रामबाबु, आफन्त अनिल र बेहुला चढेर आएको गाडीका चालक वीरेन्द्र यादवलाई उद्धार गरी प्रहरी कार्यालय लग्यो । बेहुली लिन आएका उनीहरुले प्रहरी कार्यालयमै रात विताए ।
२८ गते विहान प्रहरीको रोहबरमा भएको छलफलमा पनि बेहुला पक्षले बेहुलाको अर्कैसँग प्रेम नभएको दाबी गर्दै विवाहका लागि आग्रह गरिरहे तर, बेहुली पक्ष तयार भएनन् ।
अन्त्यमा बेहुला पक्षले ८ जेठभित्र १ लाख २० हजार रुपैयाँ बेहुलीपक्षलाई बुझाउने कागज गरी सम्झौता भएपछि विवाद टुङ्गिएको छ । बेहुला बनेर आएका ललन फेटा र टाइ हातमै झुण्ड्याएँदै एक्लै घर फर्केका छन् ।
सञ्जय साह, रौतहट
