समाचारमंगलबार, बैशाख २९, २०७२
कांग्रेस सभासदद्वारा अाफ्नै मन्त्रीहरुकाे अालाेचना
कांग्रेस केन्द्रीय सदस्य तथा सभासद्हरूले भूकम्पपीडितको उद्धार, राहत र पुनस्र्थापनामा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री र मन्त्रीहरूको आलोचना गरेका छन् ।
उनीहरूले महाविपत्तिको वेला पनि आफूहरूलाई भूमिका नदिइएको गुनासोसमेत गरेका छन् । कांग्रेस केन्द्रीय समिति र संसदीय दलको जारी बैठकमा सभासद्हरूले विनाशकारी भूकम्पपछि प्रधानमन्त्री सुशील कोइराला र कांग्रेसका मन्त्रीहरूको कार्यशैली फितलो र गैरजिम्मेवारपूर्ण भएको आरोप लगाए ।
जनताका प्रतिनिधिभन्दा पनि कर्मचारीको सरकारजस्तो गरी प्रधानमन्त्री र मन्त्रीले आफूहरूलाई बेवास्ता गरेको पनि उनीहरूको भनाइ थियो । बैठकमा सभासद् भीमसेन प्रधानले काठमाडौंकै सभासद्को टोली डेलिगेसन जाँदा पनि प्रधानमन्त्री र मन्त्रीले भेट नदिएको भन्दै असन्तुष्टि जनाए ।
‘भूकम्पपछिको उद्धार, राहतका विषयमा ध्यानाकर्षण गराउन हामी काठमाडौंका सभासद् डेलिगेसनमा जाँदा प्रधानमन्त्रीले समय दिनुभएन,’ उनले गुनासो गरे, ‘अन्यत्रको अवस्था कस्तो होला ?’ प्रधान काठमाडौं कांग्रेसका सभापतिसमेत हुन् ।
केन्द्रीय सदस्य एवं सभासद् महालक्ष्मी उपाध्याय ‘डिना’ले विनाशकारी भूकम्पपछि प्रधानमन्त्री निरीह, लाचार र गैरजिम्मेवार बनेको आरोप लगाइन् ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्प गएको एक घन्टामा सहयोग गर्ने घोषणा गरे, तर तपाईंले विदेशबाट फर्केको केही दिनपछि मात्र सम्बोधन गर्नुभयो । उहीँबाट किन गर्नुभएन ?’ उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन्, ‘यहाँ पार्टी र सरकारको नेतृत्व गर्ने के गरेर बसे ?’
नयाँ पत्रिका दैनिकबाट
