समाचारबुधबार, बैशाख ३०, २०७२
मस्तिष्कलाई तनावरहित बनाऔं: मनोचिकित्सक
भूकम्पको निरन्तर पराकम्पले समाजमा असामान्य परिस्थिति सिर्जना गरेको भन्दै यसलाई सामान्य स्थितिमा फर्काउन आफ्नो मन र मस्तिष्कलाई तनावरहित बनाउन मनोचिकित्सकहरुले सुझाव दिएका छन् ।
उनीहरुले मन र मस्तिष्कलाई तनावरहित बनाउनका लागि आफूलाई जे काम गर्दा बढी आनन्द, रमाइलो, खुसी आउँछ त्यही गर्न सुझाव दिएका छन् ।
विगतका स्मृतिलाई विस्तारै विस्मृतिमा पुर्याउन योग, व्यायाम, प्राणायाम र आफ्ना दुःख, पीडा, देखेका कुरा मनभित्र नगुम्स्याई एकापसमा बताउन पनि मनोचिकित्सकले सुझाव दिएका छन् ।
मनोचिकित्सकहरुले अहिलेको भूकम्पले सिर्जना गरेको मनोसामाजिक समस्या विस्तारै हराउँदै जाने हुँदा सकारात्मक कुरामात्र आफ्नो मन र मस्तिष्कमा खेलाउन आग्रह गरे ।
मन र मस्तिष्कलाई तनावरहित बनाउन, विभिन्न सामूहिक कार्यक्रममा आफूलाई सहभागी गराउन, प्रभावित व्यक्तिको अवस्थालाई विचार गरी उनीहरुको दैनिक क्रियाकलापमा आफूलाई पनि सहभागी गराउनुपर्ने उनीहरुले बताए ।
विपत्तिको अवस्थाले खासगरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धामा बढी असर पुर्याउने हुँदा उनीहरुको मन हलुको पार्न उनीहरुको इच्छाअनुसारको रमाइलो कार्यक्रममा प्रोत्साहन गर्नुपर्ने उनीहरुको सुझाव छ ।
मानसिक रोग अस्पतालका निर्देशक डा सुरेन्द्र शेरचनका अनुसार विपत्तिको समयमा नआत्तिइकन आइपर्ने जस्तोसुकै जोखिम भोग्न तयार छु भन्ने कुरा मस्तिष्कलाई जानकारी गराउनुपर्छ । यस्तो जानकारी मस्तिष्कले पाएपछि मस्तिष्क कम तनावमा रहन्छ ।
त्रिविवि शिक्षण अस्पताल मनोचिकित्सा विभागका प्रमुख डा सरोजप्रसाद ओझा विपत्तिपूर्वको अवस्थामा आफूलाई फर्काउन प्रकोपका समयमा भोगेका कुरालाई विस्मृतीमा पुर्याउन सक्नुपर्छ । उनले भने, “विपत्तिको अवस्थामा सकभर परिवारका सदस्य सँगै बसेर मनका कुराहरु आपसमा आदानप्रदान गर्नुपर्छ र मनलाई हलुको बनाउनुपर्छ ।”
अर्का मनोचिकित्सक भोगेन्द्र शर्मा विपत्तिले ल्याएका मनोसामाजिक समस्या पछि पनि देखिन सक्ने हुँदा अहिलेदेखि नै मन र मस्तिष्कलाई सकारात्मक कुरामा लगाउन शुरु गर्नुपर्ने सुझाव दिन्छन् ।
उनले भने, विपत्तिका समयमा प्रभावित व्यक्तिहरुले असामान्य प्रतिक्रिया देखाउँदछन्, अन्यौल र बेसहारा जस्तो अनुभव गर्दछन्, यसका लागि उनीहरुलाई सामाजिक परामर्शको आवश्यकता पर्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सा महाशाखाका प्रमुख डा गुणराज लोहनी सकारात्मक कुरामा जोड दिई विगतका कुराहरुलाई बिर्सनुपर्ने बताउँछन् ।
भूकम्प प्रभावित जिल्लामा मनोसामाजिक परामर्श शुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भूकम्प बढी प्रभावित जिल्ला धादिङ्, नुवाकोट, रसुवा, गोरखा र दोलखामा भूकम्पले उत्पन्न गरेको मनोसामाजिक समस्यालाई समाधान गर्न मनोसामाजिक परामर्श शुरु गरेको छ ।
यसका लागि मन्त्रालयले मानसिक अस्पतालका चिकित्सकलाई धादिङ्, रसुवा र गोरखाका जिल्ला अस्पतालमा परिचालन गरेको छ भने त्रिविवि शिक्षण अस्पतालका चिकित्सकलाई सिन्धुपाल्चोक र दोलखामा परिचालन गर्ने तयारी गरिरहेको चिकित्सा महाशाखाका प्रमुख डा लोहनीले जानकारी दिए ।
भूकम्पको विपत्तिले ९० प्रतिशतसम्म जनतामा केही न केही रुपमा मनोसामाजिक समस्या उत्पन्न गराउन सक्ने मनोविद्हरुले अनुमान गरेका छन् । यसका लागि मनोसामाजिक परामर्श नै आवश्यक हुने उनीहरुको सुझाव रहेको छ ।
हाल नेपालमा ९० जना मात्र मनोचिकित्सक रहेका छन् भने नौसय मनोसामाजिक परामर्शकर्ता जनशक्ति रहेको छ ।
विष्णु नेपाल, रासस
