समाचारबुधबार, बैशाख ३०, २०७२
विवादपछि सभासद्लाई त्रिपाल वितरण रोक्का
संविधानसभा भवन नयाँ वानेश्वरमा सरकारले सभासद्हरूलाई त्रिपाल वितरण गर्दा विवाद भएपछि सभाध्यक्ष सुवास नेम्वाङले वितरण कार्य रोक्न आदेश दिएका छन् ।
शहरी विकास र गृह मन्त्रालयको आग्रहका आधारमा संसद् सचिवालयले पाल वितरण गरेको थियो ।
पीडित जनताले पर्याप्त पाल नपाएको स्थितिमा सभासद्ले पाल लिनु कति उचित ? भन्ने प्रश्न उब्जिएको र केही सभासद्ले अध्यक्ष नेम्वाङलाई सो कार्य रोकाउन आग्रह गरेका थिए ।
नेम्वाङले आफ्नो जानकारीविना सभासद्लाई पाल वितरण गरिएको जनाउँदै रोक्न आदेश दिएपछि वितरण कार्य स्थगित भएको थियो ।
सचिवालयका प्रवक्ता मुकुन्द शर्माले शहरी विकास र गृह मन्त्रालयको आग्रहमा त्रिपाल वितरण गरिएको र करिब २०० सभासद्ले पाल लिइसकेको जानकारी दिए ।
पाल वितरणको विवादका कारण दिउँसो १ बजे बोलाइएको व्यवस्थापिका संसद्को बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूले त्रिपाल नलिने बताएका थिए । एमाओवादीका मुख्य सचेतक गिरिराजमणि पोखरेलले त्रिपाल लिएर भूकम्प अतिप्रभावित जिल्ला दोलखाका जनतालाई पठाउन सभासद्लाई निर्देशन दिइएको जानकारी दिए ।
एमालेका नेता सुरेन्द्र पाण्डेले पनि विवाद देखिएपछि त्रिपाल फिर्ता गरेको बताए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि जनताले नपाएको अवस्थामा आफूहरुले पाल नलिने बताए ।
