समाचारशुक्रबार, जेठ १, २०७२
घोर्थलीमा दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टर फेला पर्योः नेपाली सेना
२९ वैशाख दिउँसोबाट हराइरहेको अमेरिकी सेनाको यूएच १ वाई हुए हेलिकप्टर १ जेठमा सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाले जनाएको छ ।
हेलिकोप्टरको खोजीका लागि परिचालित नेपाली सेनाको पैदली फौजले जानकारी दिएपछि नेपाली सेनाको लान्सर र इक्युरेल हेलिकप्टरद्वारा दोलखाको कालिन्चोक डांडाको उत्तरपूर्वी दिशातर्फ अनुमानित ११,२०० फिटको उचाईमा दुर्घटनाग्रस्त हेलिकोप्टर फेला परेको नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
घटनास्थल सिन्धुपाल्चोक जिल्लाको घोर्थली गाविसमा पर्छ ।
दुर्घटनाग्रस्त ईलाकामा मौसम अनुकुल भएमा हवाई साधन पुगेपछि मात्रै घटनाको विस्तृत विवरण प्राप्त हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
———————————————————————————————————————-
अमेरिकी हेलिकाेप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्याे
वैशाखदेखि हराइरहेको अमेरिकी हेलिकोप्टर कालिञ्चोकको उत्तरपूर्वी ढलोमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
मंगलबार भूकम्प आएलगत्तै दिउँसो २ बजे दोलखाको प्रभावित क्षेत्रमा उद्धारका लागि उडेको हेलिकोप्टर ‘हुए यूएच १ वाई’ सम्पर्कविहिन भएको ४ दिनसम्म फेला पर्न सकेको थिएन ।
दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टरलाई नेपाली सेनाको आरएएन ४७ हेलिकोप्टरले १ जेठमा फेला पारेको हो ।
यसअघि नेपाली सेनाको हवाई टोली, स्थल टोली साथै अमेरिकी र भारतीय सेनाका हेलिकोप्टरले समेत खोजी गरिरहेका थिए ।
प्राप्त प्रारम्भिक खबर अनुसार दुर्घटनास्थल काठमाडौंभन्दा ३५ माइल टाढा ११, १०० फिटको उचाईमा छ । हेलिकोप्टरमा अमेरिकी सैनिक ६ र नेपाली सैनिक २ जना सवार थिए ।
स्थानीयबासीले कालिञ्चोक डाँडाको पूर्वउत्तरतर्फ हेलिकोप्टरको पखेटा र तीनवटा शव देखिएको सूचनाका आधारमा नेपाली सेनाको हेलिकोप्टर खोजीका लागि त्यसतर्फ लागेको थियो ।
