समाचारबुधबार, जेठ ६, २०७२
भूकम्पपीडितमा झाडापखाला, गाउँ नै विस्थापन
धादिङको लापा गाविसका भूकम्पपीडितमाझ झाडापखाला फैलिएको छ ।
रुघाखोकी लाग्न थालेको छ भने बस्ने ठाउँ नै नभएपछि एउटा गाउँ सदरमुकाममा आइपुगेको छ ।
धादिङको उत्तरी क्षेत्रस्थित लापा गाविसमा गाउँवासी त्रिपालमुनि बसेर गुजारा गरिरहेका भूकम्पपीडितहरुमा झाडापखालाको प्रकोप साथै रुघाखोकीको संक्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य प्रमुख जीवनकुमार मल्लका अनुसार प्रकोप प्रभावित क्षेत्रमा औषधि र थप स्वास्थ्यकर्मी हेलिकोप्टरबाट पठाइ सकिएको छ ।
गाउँमा बस्न लायक ठाउँ नभएको र झाडापखाला फैलन थालेपछि लापा गाविसको तेनचेतका ५७ घरमध्ये ५१ घर सदरमुकाम नजिकै विस्थापित भएर आइपुगेका छन् ।
साङोषमा आएका उनीहरु त्रिपाल हालेर बसिरहेको साङोषका कृष्ण शिशिरले जानकारी दिए ।
विस्थापित बसेको क्षेत्रमा पनि स्वास्थ्य र सरसफाइ तथा सुरक्षाको चिन्ता बढेको छ । सो स्थानमा सहयात्री समाजले स्नेह केन्द्र सञ्चालन गर्ने जनाएको छ ।
