समाचारबुधबार, जेठ ६, २०७२

सैनिक मुख्यालयसहित सबै ब्यारेकमा स्वस्ति शान्तिसहित क्षमा पूजा

हिमालखबर

प्रधान सेनापति गौरवशम्शेर जबरा पूजा गर्दै । तस्वीर: रासस

प्रधान सेनापति गौरवशम्शेर जबरा पूजा गर्दै । तस्वीर: रासस

नेपाली सेनाले भूकम्पको त्रासदीबाट गुज्रिरहेको समग्र राष्ट्र र राष्ट्रवासीको सुख, शान्ति, समृद्धि र कल्याणको कामनाका लागि भन्दै स्वस्ति शान्तिसहित क्षमाको पूजाको आयोजना गरेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डास्थित रिपुमर्दनी भगवती मन्दिरमा आयोजना गरिएको उक्त पूजामा प्रधानसेनापति गौरवशमशेर राणा स्वयम् विशेषकर्ता भएर पूर्जाअर्चना गरेका छन् ।

सेनाले यसखाले पूजा ६ वैशाख बिहान एकैसाथ मुलुकभर रहेर सेनाका पृतना, बाहिनी, गण र गुल्ममा सञ्चालन गरेको हो । भूकम्पको महाविपत्तिमा परेर निधन भएका व्यक्तिको आत्माको चीर शान्ति, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ मुलुक र जनताको कल्याणका खातिर स्वस्ति शान्तिसहितको क्षमा पूजा गरिएको नेपाली सेनाले जनाएको छ ।

सो अवसरमा भूकम्पलगायतका सबैखाले दैवी विपत्तिको नास होस् भनेर ११ जना ब्राह्मणद्वारा लघुरुद्री पाठ र नवचण्डी पाठ गराइएको थियो । त्यस क्रममा नवग्रह स्तोत्र, वेदपाठ, विष्णु सहस्रनाम, बङ्गलामुखी स्तोत्र पाठ, गणेश, शिव, हनुमान, नाग, बटुकभैरव र शनिमृत्युन्जयसहितका पाठ गरिएको थियो ।

साथै विशेष हवन र विशेष पूजा पनि सञ्चालन गरिएको छ । उक्त पूजाअर्चना तथा पाठका लागि नेपाली सेनाका पुरोहितका साथै अन्य सुरक्षा निकायका पण्डित र सर्वसाधारण ब्राह्मणलाई समेत सहभागी गराइएको थियो ।

पूजा पाठ सकिएपछि दिउँसो २:४५ बजे सेनाले सैनिक मञ्च टुँडिखेलबाट सबै सर्वसाधारणका लागि फूल प्रसाद वितरण गर्ने कार्यक्रमसमेत तय गरेको नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिए ।

सबै नेपालीमा भूकम्प त्रासको त्रास हटोस्, फेरि आगामी दिनमा मुलुकले यस्तो दैवी विपत्ति नपरोस् भनेर राष्ट्रवासीको नाममा स्वस्ति शान्तिसहितको क्षमा पूजा आयोजना गरिएको नेपाली सेनाका मूल पण्डित उपसेनानी टारहरि अधिकारीले बताए ।

वैशाख १२ गते र २९ गते गएको ठूला भूकम्पमा परेर हालसम्म ८ हजार ६८३ भन्दा बढी व्यक्तिहरुको निधन भएको पुष्टि भइसकेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>