समाचारसोमबार, जेठ ११, २०७२
पूर्व न्यायाधीश उप्रेतीको शव शिक्षण अस्पताललाई, कुशको शव बनाएर दाहसंस्कार
“इच्छामृत्यु” भन्दै आत्महत्या गरेका सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीको शव त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको छ ।
उनको शव ‘सुसाइड नोट’मा उल्लेख भएबमोजिम अस्पताललाई हस्तान्तरणपछि हिन्दू धार्मिक संस्कार अनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको उनका भाइ चेतराज उप्रेतीले बताए ।
आफूले इच्छामरण गरेको र यो शव त्रिवि शिक्षण अस्पताललाई दिनु उसले नलिए अन्य कुनै शिक्षण अस्पतालाई दिनु, काजकिरिया खर्चबापत रु पाँच लाख भूकम्पपीडितलाई दिन प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्नु भन्ने कुरा ‘सुसाइड नोट’मा लेखिएको उनका नातेदारसमेत रहनुभएका वरिष्ठ अधिवक्ता रामनाथ मैनालीले बताए ।
चार वर्षसम्म सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भएर पनि स्थायी नगरिएपछि समय सकिनु अगावै राजीनामा दिएका उनी त्यसपछि कामविहीन थिए ।
न्यायाधीश हुनुअघि स्व उप्रेती एसियाली विकास बैंक, विश्व बैंकलगायतका संस्थाको कानुनी सल्लाहकार थिए । न्यायाधीश भइसकेको व्यक्ति राष्ट्रिय मानव अधिकार आयोगको पदाधिकारीबाहेक कुनै पनि पदमा काम गर्न नपाउने संवैधानिक किसिमले रोकेपछि कामविहीन बने ।
वरिष्ठ अधिवक्ता मैनालीका अनुसार नेपाल बार एसोसिएसनले चेम्बर प्राक्टिस गर्न (आफ्नै कार्यालयमा गरिने कानुनी कामसमेत) रोकेकाले यसले आफूलाई ठूलो चोट पुर्याएको उनले नोटमा उल्लेख गरेकी थिए ।
नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराई उनको मृत्युले बार स्तब्ध भएको र ‘सुसाइट नोट’मा उल्लेख भएका विषयमा बारले पछि छलफल र समीक्षा गर्ने बताए ।
काठमाडाैंको ज्ञानेश्वरमा बस्दै आउनुभएका ६५ वर्षीय स्व उप्रेतीको जन्म सिन्धुपाल्चोकको लिङ्खु गाविसमा भएको थियो । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

