समाचारमंगलबार, जेठ १२, २०७२
सिन्धुपाल्चोकका ६० भन्दा बढी बस्ती उच्च जोखिममा
१२ वैशाखमा गएकाे महाभूकम्पपछि सिन्धुपाल्चोकका १८ गाविसका ६० वटाभन्दा बढी बस्ती उच्च जोखिममा परे पनि तिनीहरुलाई तत्काल कहाँ सार्ने भन्ने निर्णय हुन सकेको छैन ।
भूकम्प गएको एक महिना बितिसक्दासमेत जिल्लाका उच्च जोखिममा परेका तातोपानी, लिस्ती, मार्मिङ, पिस्कर, गुम्बा, मांखा, राम्चे, भोताङ, बरुवालगायत १८ गाविसका ६० बस्ती सुरक्षित स्थानमा सार्ने विषयमा कुनै निर्णय हुन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीले बताए ।
भूकम्पपछि ती बस्तीमा गएको सुख्खा पहिरो र जमिनमा धाँजा फाटेकाले बस्ती उच्च जोखिममा रहेको भन्दै स्थानीयवासीले प्रशासनसँग आफूहरुलाई सुरक्षित स्थानमा सारिदिन आग्रह गरेको उनले बताए । वर्षायाम सुरु हुन केही हप्ता मात्र बाँकी छँदासमेत ती बस्ती सुरक्षित स्थानमा सार्ने विषयमा निर्णय हुन नसक्दा झनै समस्या थपिँदै गएको छ ।
प्रजिअ ज्ञवालीका अनुसार केही दिनअघि १२ जना भूगर्भविद्को टोलीले जिल्लाका उच्च जोखिममा रहेका बस्ती र भौगोलिक अवस्थाका बारेमा अध्ययन गरेर मौखिक रुपमा ती बस्ती उच्च जोखिममा रहेको जानकारी दिएपनि लिखितरुपमा केही नदिएको उनको भनाइ छ ।
“उहाँहरु दुई दिनमात्र यहाँ बस्नु भो, त्यो समय एकदमै कम भो, मैले उच्च जोखिममा परेका बस्तीमा थप विज्ञ टोली पठाइ अध्ययन गर्न सुझाव दिएको छु”, उनले भने ।
के भन्छन् नेताहरु
विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकको स्थलगत निरीक्षण गरी राजधानी फर्किएका विभिन्न पार्टीका नेताहरुले भने वर्षाअघि नै ती बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण नगरे ठूलो दुर्घटना हुनसक्ने बताए ।
मनसुन सुरु हुन केही समयमात्र बाँकी रहेकाले तत्काल वैकल्पिक व्यवस्था गरी ती बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने निष्कर्ष उनीहरु बताउँछन् । सिन्धुपाल्चोक क्षेत्र नं ३ को दुई दिनअघि मात्र स्थलगत निरीक्षण गरी फर्किएका नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जिल्लाको विकट बस्ती बरुवा, बाँसखर्क, दुवाचौरलगायत गाविसको निरीक्षणपछि भूकम्प सुरक्षित स्थानमा अस्थायी बासस्थानको व्यवस्था मिलाउनुपर्ने बताए ।
वर्षायाम सुरु हुनुभन्दा अघि नै सुरक्षित स्थानमा सार्नुको विकल्प नरहेको बताउँदै महामन्त्री सिटौलाले त्यसपछि स्थायीरुपमा सरकार सुरक्षित पुनर्बासमा लाग्ने बताए ।
यसैगरी, नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् सभासद् अमृतकुमार बोहोराले पनि वर्षायामअघि नै ती बस्तीबाट स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्नुपर्ने बताए ।
उक्त बस्तीका कतिपय जनता बस्ती नै छोडेर काठमाडाैं आएको प्रसङ्ग जोड्दै काठमाडौँ समेत भूकम्पबाट प्रभावित भएकाले उनीहरुलाई जिल्लाकै अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताए ।
