समाचारशुक्रबार, जेठ १५, २०७२
राप्रपा नेपाल सहमतीय राष्ट्रिय सरकारको पक्षमा
महाभूकम्पबाट देशमा उत्पन्न परिस्थितिपछि संविधानसभाको चौथौं शक्ति राप्रपा नेपाल बलियो राष्ट्रिय सहमतीय सरकारको पक्षमा उभिने भएको छ ।
उक्त पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री चन्द्रबहादुर गुरुङले यस्तो धारणा राखेका हुन् । उनले विपत्तिपछिको नवनिर्माण र नयाँ संविधान निर्माणका लागि सवै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउनुपर्ने बताए ।
दोस्रो संविधानसभा निर्वाचनबाट चौथो शक्ति बनेपछि राप्रपा नेपाल सरकार र संविधानसभामा प्रतिपक्ष भूमिकामा थियो । पार्टीले उठाएको अजेण्डाका कारण संविधानसभामा प्रतिपक्ष देखिएको राप्रपा नेपाल सरकारमा सहभागी थिएनन् ।
तर, वर्तमान विपतबाट मुलुकलाई नयाँ दिशा दिन यो सरकार असफल भएकाले बलियो सरकार निर्माण गर्नुपर्ने अवस्था आएको महामन्त्री गुरुङले बताए । उनले भने, ‘‘नयाँ सरकारमा पार्टी जान्छ कि जाँदैन भन्ने विषय छलफलमा टुंगो लाग्दै जान्छ । तर, पार्टी बलियो सरकार निर्माणको पक्षमा छ ।’’
३० वैशाखमा व्यवस्थापिका संसदबाट सर्वसहमतिले राष्ट्रिय संकल्पको प्रस्ताव पारित गर्दै पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराईले राष्ट्रिय सरकारको प्रस्ताव राखेपछि यसबारे बहस अघि बढेको छ । मुख्य गरेर एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले लिइरहेको यो पहलमा राप्रपा नेपालसँग भने कुनै छलफल हुन सकेको छैन ।
गुरुङ भन्छन्, ‘‘राष्ट्रिय सरकारबारे अरु पार्टीसँग हाम्रो कुनै छलफल नभएपनि हामी बलियो सरकारकै पक्षमा छौं ।’’ उनले सुशील कोइराला नेतृत्वको सरकारले महाभूकम्पबाट उत्पन्न विपत्ति सामना गर्न नसक्ने बताए ।
‘‘उद्धार, राहत, पुनस्थापना, पुननिर्माण र अन्य समन्वयमा भएको कमजोरीले पनि वर्तमान सरकारले विपत्ति सामना गर्न सक्दैन भन्ने देखियो ।’’, गुरुङ भन्छन् ।
उद्धार, राहत र पुनस्थापनामा लागिरहेको राप्रपा नेपालको औपचारिक बैठक बसेर भने यसबारे धारणा बनाएको छैन । पार्टीका सह–प्रवक्ता मोहन श्रेष्ठ भन्छन्, ‘‘यसबारे पार्टीको आधिकारिक निर्णय भने हुन सकेको छैन ।’’
