समाचारआइतबार, जेठ १७, २०७२
‘विषय र प्रक्रियामा सहमति भए असारभित्रै संविधान’
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले २१ जेठसम्मलाई संविधान लेखनका लागि सहमति जुटाउने विषयमा पूर्ण रुपमा सदुपयोग गर्न आह्वान गरेका छन् ।
संविधानसभाको आज बस्ने भनिएको बैठक स्थगित भएकाबारे जानकारी गराउँदै उनले संविधानको अन्तरवस्तुमा देखिएको विवादलाई टुङ्ग्याउने काम गरे महाभूकम्पबाट आहात भएका जनतालाई केही हदसम्म मलमपट्टीको काम गर्ने बताए ।
उनले भने, “दलहरुले संविधानका विषय र प्रक्रियामा यो बीचको समयमा सहमति गरेका खण्डमा त्यस्तो निर्णयलाई जनताले हार्दिकतापूर्वक लिनेछन् ।” संविधानसभाको अर्को बैठक २१ जेठमा बोलाइएको छ ।
सभाध्यक्ष नेम्वाङले दलबीच संविधानको अन्तरवस्तुमा सहमतिको सम्भावना प्रचुरमात्रामा बढेकाले यही बेला चाँडो सहमतिमा पुग्न दललाई दबाब दिनुपर्ने आवश्यकता रहेको बताए ।
भूकम्पले क्षतविक्षत भएको मुलुकले अब पनि संविधान पाएनन् भने झन चौपट हुन्छ भन्दै उनले राज्य पुनःसंरचनामा सङ्ख्याबाहेक दलबीच अरु विषयमा खासै मतभिन्नता नरहेकाले अब छिट्टै संविधान जारी गर्नुपर्ने बताए ।
संविधान जारी भएका खण्डमा भूकम्प प्रभावित जनतालाई विदेशी मित्रराष्ट्रबाट अत्यधिक सहयोगका हात बढ्न सक्ने सम्भावना औँल्याउँदै सभाध्यक्ष नेम्वाङले संविधानको विषय र प्रक्रियामा सहमति भएमा असारभित्रै संविधान जारी गर्न सकिने बताए ।
