समाचारबुधबार, कार्तिक २२, २०६९
राष्ट्रपतिले भने, छिटो निकास दिनुस
२२ कार्तिक बिहान राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा राष्ट्रपति यादवले बजेट, निर्वाचनलगायतका विषयमा छिटो सहमति गरेर राजनीतिक निकास दिन कोइरालाललाई आग्रह गरेका हुन् ।
संविधानसभा भङ्ग भएयता बढ्दो राजनीतिक सङ्कटबाट मुलुकलाई निकास दिन राष्ट्रपति डा यादवले विभिन्न दलका शीर्ष नेताहरुलाई बेग्लाबेग्लै र सामूहिकरुपमा भेट्दै आएका छन् ।
राष्ट्रपति यादवले दलका नेताहरुलाई छिटो सहमतिमा पुगेर राजनीतिक निकास खोज्न आग्रह गर्दै आए पनि सहमति हुने निश्चित आधारहरु अहिलेसम्म तय भइसकेका छैनन् ।
भेटपछि कोइरालाले राष्ट्रपति यादव मुलुकको अवस्थाप्रति झन् चिन्तित भएको भन्दै बजेटको बेला आएकाले छिटो सहमतिमा पुग्नुपर्नेमा जोड दिएको बताए । “अध्यादेशबाट बजेट आउनु भनेको प्रजातन्त्रको मान्यताविपरीत भएकाले यसलाई छिटोभन्दा छिटो सहमति गरेर टुङ्ग्याउनुस्,” राष्ट्रपतिलाई उद्धृत गर्दै सभापति कोइरालाले भने ।
अहिलेको अवस्थामा सहमति भएन भने मुलुकले झन जटिल परिस्थितिको सामना गर्नुपर्ने भनेर राष्ट्रपतिमा चिन्ता बढेको कोइरालाको भनाई थियो ।
सभापति कोइरालाले भने बजेट अध्यादेश अस्वीकार गर्नुपर्ने भनेर प्रतिपक्षी दलहरुले भन्दै आएको बताउँदै राजनीतिक सहमति गरेर राष्ट्रिय सहमतिका लागि वर्तमान प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।
दलहरुबीच विश्वासको सङ्कट रहेकाले विश्वासको वातावरण बनाउन पनि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्नेमा सभापति कोइरालाले जोड दिए ।
यसअघि राष्ट्रपति यादवले एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।
