समाचारआइतबार, जेठ १७, २०७२
जस्ता काण्डबारे छानविन गरिने
नुवाकोट जिल्ला दैवी प्रकोप उद्धार समितिले जस्ता काण्डबारे छानविन गर्ने निर्णय गरेको छ ।
अर्थमन्त्री रामशरण महतका स्वकीय सचिव रमेश महतले विद्यालयका लागि लगिएको जस्तापाता विक्री गर्न खोजेको आरोप लागेपछि यसबारे छानविन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए ।
उनका अनुसार छानविन गरी गल्ती भेटिए कार्बाही प्रक्रिया अघि बढाउने निर्णय भएको छ । आज विहान बसेको बैठकमा दलीय प्रतिनीधिहरुले भने नैतिक रुपमा अर्थमन्त्री महतले नै राजिनामा दिनुपर्ने माग गरेका थिए ।
पत्रकार सम्मेलनमा पत्रकार नै कुटिए
यसैबीच, जस्ता काण्डबारे प्रष्ट पार्न भन्दै रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा प्रश्नकर्ता नै कुटिएका छन् ।
पत्रकार सम्मेलनमा उपस्थित नुवाकोटका कृष्ण बोहराले महतले जस्ता बेच्न खोजेको प्रमाण आफूसित भएको जानकारी गराउँदै प्रश्न गर्न खोज्दा महतका कार्यकर्ताहरुले उनलाई कुटपिट गरेका हुन् ।
महतले विभिन्न विद्यालयमा गएको तीन सय बन्डल जस्तापाता बेच्न खोजेको आरोप स्थानीयले लगाएका छन् ।
यसबारे प्रश्न गर्ने कारोबार दैनिकका पत्रकार शिव बोहरालाई समेत महतका कार्यकर्ताले कुटपिट गरेका थिए । ती कार्यकर्ताले अन्य पार्टीका कार्यकर्ताले प्रश्न गर्न खोजेको भन्दै कुटपिट गरेका थिए ।
विक्री गर्न खोजेको आरोप लागेको जस्तापाता नेपाल इन्भेष्टमेन्ट बैंकले सहयोग गरेको हो ।
