समाचारबुधबार, जेठ २०, २०७२

दलहरुबीच विहिवार विहान निर्णायक वार्ता

हिमालखबर

फाइल तस्वीर

फाइल तस्वीर

प्रमुख दलहरुबीच नयाँ संविधान, नवनिर्माण र राष्ट्रिय सरकारबारे विहिवार विहान निर्णायक वार्ता हुने भएको छ ।

यी तीन वटै विषयलाई प्याकेजमा टुंग्याउन प्रमुख दलहरुले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग मागेको समय भोलि सकिने भएकाले निर्णायक वार्ता हुने एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बताए ।

उनका अनुसार निर्वाचन प्रणालीबारे सहमति जुटिसकेको र अन्य विषयमा पनि सकारात्मक छलफल भइरहेकाले सहमति जुट्ने संभावना बढी छ । पोखरेलले भने, ‘‘संघीयतामाथि छलफल भइरहेको छ, भोलि विहान निर्णायक वार्ता हुन्छ ।’’

संघीयतामा एमाओवादीसहितको ३० दलीय मोर्चाले ६ देखि ८ प्रदेश बनाउने, नामाकरण गरेर जाने र विवादित प्रदेशको नाम प्रदेशसभाले राख्ने सर्त राखेको छ भने कांग्रेसले ६ र एमालेले सात प्रदेशको संघीयता प्रस्ताव गरेको छ ।

कांग्रेस र एमालेले भने प्रदेशको नामाकरण प्रदेशसभाले नै गर्नुपर्ने जनाउँदै आएको छ । २० जेठमा बसेको एमालेको स्थायी कमिटी बैठकले आफ्नो पुरानै अजेण्डामा रहेर छलफल गर्नुपर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी मोर्चाका शीर्ष नेताहरुबीच नयाँ संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन लगातार छलफल भइरहेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले अहिलेसम्म सहमति नजुटेपनि छलफल भइरहेको बताए ।

दलहरुबीच असारभित्रै नयाँ संविधान जारी गर्ने र राष्ट्रिय सरकार बनाएर नवनिर्माणमा लाग्ने विषयमा सहमति जुटिसकेको छ । एमाओवादीका प्रमुख सचेतक पोखरेल भन्छन्, ‘‘नयाँ संविधान जारी भएपछि सुशील कोइरालाले राजिनामा दिनुहुन्छ । त्यसपछि मुलुक नवनिर्माणतिर लाग्छ ।’’

संविधानसभाकाे बैठक भाेलि दिउँसाे बस्दैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>