समाचारबिहीबार, जेठ २१, २०७२
झिलिक्क मेसेज, मिलिक्क नगद
मोबाइल फोन सन्देशमार्फत राहतस्वरुप नगद हात पारेपछि गोरखाका बगुवावासीले तत्कालको खाँचो टार्न सक्ने भएका छन् ।
‘तपाइँले डीसीए एनसीए तथा इको नेपालबाट १५ हजार भूकम्प राहत सहयोग यो इ–भौचर नम्बर…द्वाराप्राप्त गर्नुभयो । मितिः ३ जुन २०१५ ।’
बुधबार आफ्नो मोबाइल फोनमा यस्तो ‘मेसेज’ देखेपछि बगुवा–१, गोरखाकी चेतकुमारी पनेरुलाई कम्ति खुशी लागेन । मेसेज पाउनेबित्तिकै उनी गाविस भवन दौडिइन् । त्यहाँ त अघि नै भीड लागिसकेको रहेछ । पालैपालो आफूलाई आएको मेसेज र परिचयपत्र देखाइन् । र, तत्कालै रु. १५ हजार हात पारिन् ।
बढीमा एक घण्टाभित्र राहतको पैसा हातैमा पर्दा पनेरु दंग परिन् । गोरखालाई केन्द्रविन्दुर बनाएर आएको १२ वैशाख महाभूकम्पले उनको परिवारलाई केही भएन तर घर भने माटोमै मिलेको थियो । “मिलिक्कै जसो पैसा आयो, भोलि जस्ता किन्छु र पर्सीदेखि घर बनाउन थाल्छु”, उनी भन्छिन् ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको संयोजन र नेपालस्थित एक्ट अलायन्स सदस्य डेन चर्च एड (डीसीए) को सहयोगमा बुधबार र बिहीबार बगुवाका ४०० घरधुरीलाई मोबाइल फोनमार्फत नगद राहत वितरण गरियो । बाँकी २०० घरलाई शुक्रबार राहत प्रदान गरिने बताइएको छ ।
भूकम्पपीडितलाई जस्तापाता वा रु. १५ हजार राहत वितरण गर्ने सरकारको निर्णयसँगै डीसीएले मोबाइलमार्फत नगद राहतको अवधारणा ल्याएको हो ।
डीसीएकी क्षेत्रीय सञ्चार अधिकृत श्रेया सिंहका अनुसार मोबाइल फोनमार्फत नगद राहत वितरण गरिएको यो नेपालमै पहिलो हो । “केही समय पहिले सप्तरीका आगलागी पिडितमाझ् यो प्रविधिको नमूना गरिएको थियो, त्यहाँको सफल परिक्षणले हामीलाई हौस्यायो”, सिंहले भनिन् ।
मोबाइलबाट राहत वितरण गर्नुअघि डीसीए र इको नेपालले गाविसमा मोबाइल फोन प्रयोगकर्ताबारे सर्भेक्षणले ८२ प्रतिशत गाउँलेसँग मोबाइल फोन भएको देखाएको थियो ।
त्यसैको आधारमा मोबाइल बैंकिङ संस्था ‘हेल्लो पैसा’ सँगको प्राविधिक सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको हो । मोबाइल नभएकाहरुले पनि गाविसमा परिचयपत्र देखाइ इ–भौचर प्राप्त गर्ने र त्यसैको आधारमा राहत रकम प्राप्त गर्न सक्नेछन् ।
मोबाइलबाटै नगद राहत पाएका बगुवा १ का भूकम्पीडित टेकनाथ बञ्जारा नगद राहतले आफूलाई आवश्यक वस्तु तत्काल खरीद गर्न सहयोग गर्ने बताए । “यति सजिलोसँग घरदैलोमै खुरुखुरु पैसा पाइयो, अच्चमै लाग्यो”, उनले भने । बगुवाबाट शुरु गरिएको यो प्रविधि गोरखाका भूकम्पप्रभावित अन्य गाविसमा पनि सञ्चालन गरिने स्थानीय साझेरदार इको नेपालले जनाएको छ ।
मोबाइल फोनमार्फत नगद राहतको यो अवधारणाले भूकम्पपीडितलाई प्रत्यक्ष लाभ दिनेमात्र स्थानीय बजार उकास्न पनि सहयोग पुग्ने डीसीएको दावी छ । डीसीएकी सिंह भन्छिन्, “राहत वितरणमा नौलो र प्रभावकारी सूचना प्रविधि नेपाल भित्र्याउन पाउँदा हामी खुशी छौं ।”
