समाचारमंगलबार, जेठ २६, २०७२
सेनाले ल्यायो दुईवटा नयाँ हेलिकप्टर
नेपाली सेनाले दुईवटा एमआई–१७ हेलिकप्टर खरिद गरेको छ । रुसको सरकारी स्वामित्वको कम्पनीबाट खरिद गरिएका ती हेलिकप्टर राजधानी ल्याइएको छ ।
नेपाली सेनालाई आवश्यक एमआई–१७ भी–५ हेलिकप्टर रुसी राजदूतावासमार्फत खरिद गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपालको विकट भौगोलिक अवस्था र प्रतिकूल मौसममा समेत उडान गर्न सक्ने तथा बढी भार वहन क्षमता भएका एमआई–१७ भी–५ हेलिकप्टर छिमेकी राष्ट्र बङ्गलादेश, भारत, पाकिस्तान तथा चीनमा समेत प्रयोगमा रहेको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हालैको भूकम्पपछि सञ्चालित खोज, उद्धार तथा राहतका काममा भारतीय वायु सेना र चिनियाँ जनमुक्ति सेनाले एमआई–१७ हेलिकप्टर प्रयोग गरेका थिए ।
नेपाली सेनाले नौ वर्षअघि ती हेलिकप्टर खरिदका निम्ति सरकारसँग अनुरोध गरेको थियो ।
