समाचारबुधबार, जेठ २७, २०७२
हिमचितुवाको घाँटीमा जीपीएस वेल्ट

तस्वीर सौजन्यः कमल थापा, विश्व वन्यजन्तु कोष
कञ्चनजंघा हिमालमा भेटिएको हिमचितुवाको घाँटीमा संरक्षणकर्मीहरुले स्याटलाइट जीपीएस वेल्ट जडान गरेका छन ।
कञ्चनजंघा संरक्षण क्षेत्र अन्तर्गत ताप्लेजुङको ओलाङचुङगोला–९ मा पर्ने याङमा भन्ने स्थानमा हिमचितुवालाई पासोमा पारेर घाँटीमा स्याटलाइट जीपीएस जडान गरिएको हो ।
कञ्चनजंघा हिमशृंखलाको ओमिखांग्री हिमाल नजिकै भेटिएको यो हिमचितुवाको नाम पनि ओमिखांग्री नै राखिएको छ ।
विश्व वन्यजन्तुकोष,प्रकृति संरक्षण, कञ्चनजंघा क्षेत्र विकास आयोजना, कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद र स्थानीय हिमचितुवा संरक्षण समितिमा आवद्ध पदाधिकारी र प्राविधिकको टोलीले यो काम सम्पन्न गरेको विश्व वन्यजन्तुकोषले जानकारी गराएको छ ।
यसरी हिमचितुवाको घाँटीमा स्याटलाइट जडान गरिएको यो दोस्रो पटक हो । यसअघि सन २०१३ मा कोषले ताप्लेजुङकै खाम्वाचेन क्षेत्रमा पहिलो पटक यो काम गरेको थियो ।
पहिलो पटक स्याटलाइट जडान गरिएको हिमचितुवाको नाम पनि कञ्चनजंघा राखिएको थियो ।
यसवर्ष हिमचितुवा खोज्न कञ्चनजंघा संरक्षण क्षेत्रमा चारवटा टोली खटेका थिए । कोषका वरिष्ठ अनुसन्धान अधिकृत अनिल श्रेष्ठले भने –“टोलीले हिमचितुवाको वासस्थान पहिचान भएका क्षेत्रमा थापेका २८ मध्ये एउटा पासोमा ४१ किलो वजनको भाले हिमचितुवा फसेपछि त्यसको घाँटीमा स्याटलाईट जडान गरेर पुनः जंगलमा छोडिएको छ ।”
यसरी जडान गरिएको स्याटालाइट जीपीएसबाट उसको रहनसहन,आचरण र स्वभाव अध्ययन गरिने पनि श्रेष्ठ वताए ।
यसपटक जडान गरिएको स्याटलाइटले हिमचितुवावारे १८ महिनासम्म सूचना दिने वताइएको छ ।
कोषले नेपालमा ३५० देखि ५९० सम्मको संख्यामा हिमचितुवा रहेको अनुमान गरेको छ ।
लक्ष्मी गौतम
