समाचारशुक्रबार, जेठ २९, २०७२
१५ दिनभित्र संविधानको प्रारम्भिक मस्यौदा
संविधानसभाले मस्यौदा समितिलाई नयाँ संविधानको प्रारम्भिक मस्यौदा तयार पार्न १५ दिनको समय दिएको छ ।
संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले पेश गरेको प्रतिवेदनमाथि सभासद्हरुले धारणा राखेपछि संविधानसभाले प्रारम्भिक मस्यौदा तयार पार्न मस्यौदा समितिलाई निर्देशन दिएको छ । सभासद् कृष्ण सिटौली सभापति रहेको मस्यौदा समितिलाई १५ दिनभित्र प्रारम्भिक मस्यौदा तयार पार्न निर्देशन दिइएको छ ।
उक्त समितिले सहमति जुट्न बाँकी रहेका विषयहरुमा सहमति जुटाउने प्रयत्न पनि गर्नेछ । राप्रपा नेपालले उक्त प्रतिवेदनको विपक्षमा मतदान गरेका थिए भने मधेशी केन्द्रीत चार दल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले बैठक बहिष्कार गरेका थिए ।
२५ जेठमा प्रमुख दलहरुबीच प्रमुख विवादित विषयमा सहमति जुटेपछि संविधान निर्माण प्रक्रिया अघि बढेको छ । नियमावली अनुसार संविधान जारी गर्न अझै १२८ दिन लाग्ने भएपनि छोटो प्रक्रिया अपनाएर एक महीनाभित्रै संविधान जारी गर्ने तयारीमा दलहरु लागेका छन् ।
नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्का ढिलोमा दुई महीनाभित्र संविधान जारी गरेर राष्ट्रिय सरकार गठन हुने बताउँछन् । उनी दलहरुबीच अत्याधिक सहमति जुटेकाले संविधान निर्माण प्रक्रियामा अव विलम्ब नहुने बताउँछन् ।
८ प्रदेशको संघीयतामा सहमति जुटाएका दलहरु आयोगमार्फत प्रदेशको सीमाकंन गर्न तयार भएपछि साना पाँच दलले संविधानसभा बैठक नै बहिष्कार गरेका थिए । एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल भन्छन्, ‘‘संविधान जारी गर्ने अन्तिम समयसम्म असहमत दलहरुसँग सम्वाद गरेर सहमतिमै संविधान जारी गर्ने प्रयास हुन्छ ।’’
