समाचारशनिबार, जेठ ३०, २०७२
मोदीलाई निम्तो दिएर महत फर्किए, चीनलाई पनि निम्तो
अर्थमन्त्री रामशरण महतले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिले नेपालमा अब संविधान निर्माणको बाटो खुलाएको भनी भारत सरकार र त्यहाँका नेताहरुले प्रशंसा व्यक्त गरेको बताएका छन् ।
नेपालमा १२ वैशाखमा गएको भूकम्पबाट ध्वस्त भौतिक संरचनाको पुनःनिर्माण र नव निर्माणका लागि सहयोग जुटाउन आयोजना गर्न लागिएको दाता सम्मेलनमा सहभागिताका लागि भारतीय प्रधानमन्त्रीलाई निमन्त्रणा गरेर आज स्वदेश फर्किएपछि उनले भने, “उहाँहरुले ठूलो गतिरोध समाप्त भएको र अब संविधान निर्माणको बाटो खुलेको बताउनुभयो, १६ बुँदे सहमतिप्रति उहाँहरु खुशी हुनुहुन्छ ।”
“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आयोजना हुन लागेको दाता सम्मेलनमा सकेसम्म आफै आउने कोशिस गर्छु, यदि त्यस्तो अवसर मिलेन भने वरिष्ठ साथीलाई पठाउँछु भन्नुभएको छ”, अर्थमन्त्रीले भने ।
उनले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनमा सहभागी हुन पठाएको निमन्त्रणापत्र भेटेर हस्तान्तरण गर्नाका साथै दुई देशबीच सम्बन्धका विविध आयामका बारेमा छलफल गरेका थिए ।
भारतमा रहँदा अर्थमन्त्री डा महतले विदेशमन्त्री सुषमा स्वराज, विदेशसचिव जयशङ्कर, आफ्ना समकक्षी अर्थमन्त्री अरुण जेट्ली, प्रधानमन्त्रीका अतिरिक्त प्रमुख सचिवलगायत उच्चपदस्थ अधिकारीसँग छलफल गरेका थिए ।
नेपालमा लगानी भित्र्याउन तथा पुनःनिर्माणमा सहयोग गर्नेबारेमा केन्द्रित गरेर अर्थमन्त्री महतसँग एसोसिएसन अफ अल इन्डिया चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका पदाधिकारीले शुक्रबार छलफल गरेका थिए ।
चीनका प्रधानमन्त्रीलाई पनि विशेष अतिथिका रुपमा नेपालमा हुने दाता सम्मेलनमा सहभागी हुन आमन्त्रण गरिएको समेत उनले जानकारी दिए ।
नेपालले त्यससम्बन्धी जानकारी चीनका उच्च अधिकारीलाई गराइसकेको बुझिएको छ ।
रासस
