समाचारआइतबार, जेठ ३१, २०७२

वीरगञ्जमा एकैपटक ११३ जना महिलाले रक्तदान गरे

हिमालखबर

blood_donor1

तस्वीर: सुरेश विडारी

वीरगञ्जमा पहिलो पटक महिला मात्रैको सहभागितामा आयोजित रक्तदान कार्यक्रममा ११३ जनाले रक्तदान गरेका छन् ।

एउटै कार्यक्रममा एकसय भन्दा बढी महिलाले एकैपटक रक्तदान गरेको वीरगञ्जमा मात्रै नभएर नेपालमै पहिलोपटक भएको आयोजकको दाबी छ ।

विश्व रक्तदाता दिवसको अवसर पारेर ब्लड डोनर्स एशोसिएशन नेपाल पर्सा शाखा अन्तर्गतको ‘वुमन फर ब्लड’ र ‘नर्सिङ एशोसिएशन अफ नेपाल वीरगन्ज’ ले कार्यक्रमको आयोजना गरेका हुन् ।

“जहिले पनि रक्तदान कार्यक्रममा महिलाको संख्या एकदमै न्युन हुने तर, रगत लिने महिलाहरुको संख्या एकदमै बढी हुने गरेकाले महिलालाई रक्तदानमा उत्प्रेरित गर्न कार्यक्रमको आयोजना गरिएको वुमन फर व्लडकी अध्यक्ष मायामितु न्यौपानेले बताईन् ।

तस्वीर: सुरेश विडारी

तस्वीर: सुरेश विडारी

उनले भनिन् “कुनै शारीरिक समस्या छैन भने महिलाहरुले समेत तीन तीन महिनामा रगत दान गर्न सक्छन् । तर महिलाहरुलाई रक्तदानका लागि उत्प्ररित गर्न आवश्यक देखिएको छ ।”

२८ पटकसम्म रक्तदान गरिसकेकी नेपाल रेडक्रस सोसाईटी पर्साकी उपाध्यक्ष मधु राणा अरुको ज्यान बचाउनु नै सबैभन्दा ठूलो कुरा भएको बताउँछिन् । भनिन्, “रक्तदान गर्दा कमजोरी हुन्छ भन्ने डर मात्रै हो । तुरुन्त हिडेर काम गर्न सकिन्छ । एक दुई चोटि रगत दिएपछि डर आफैं हटेर जान्छ ।”

रक्त सञ्चार केन्द्र वीरगञ्जका प्रमुख प्रविण मानन्धरले महिलाहरुलाई रक्तदानका लागि उत्पे्ररित गर्न आवश्यक रहेको बताए । “महिनामा एकपटक रजश्वला हुँदा रगत जाने भएकोले महिलाहरु रक्तदान गर्न हिच्किचाउने गरेका छन्,” मानन्धरले भने, “तर कुनैपनि शारीरिक समस्या नभएका महिलाले तीन महिनामा एकपटक रगत दान गर्दा फरक पर्दैन् ।”

blood_donor

तस्वीर: सुरेश विडारी

‘मेरो जीवन बचाई दिनु भएकोमा धन्यवाद’ भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रममा महिलाहरुले उत्साहित भएर रक्तदान गरे । नर्सिङ एशोसिएसन अफ नेपाल पर्साकी अध्यक्ष मुना रानाले रहर हुँदाहुँदै रक्तदान गर्न नपाएको अवस्थामा आफ्नै संस्थाको आयोजना रगत दान गर्न पाएको खुसी लागेको बताईन् । उनी जस्तै धेरै महिलाले शनिबार पहिलोपटक रगत दान गरेका थिए ।

“रक्तदान गर्ने मन हुँदा हुँदै पनि प्रेसरको औषधी खाईरकोले रगत दिन सकिएन,” वीरगञ्ज– १० पानीट्याङकी बस्ने राजकुमारी थापा ३० जेठमा गुनासो गर्दै थिईन् । आफूले रगत दान गर्न नमिले पनि उनी रक्तदान गर्ने महिलाहरुलाई हौसला दिन वीरगञ्जको हिमाञ्चल केविनमा पुगेकी थिईन् ।

४५ किलो तौल नपुगेको, रक्तचाप न्यून भएको, महिनावारी भएको, विभिन्न रोगको औषधी सेवन गरिहेका लगायतका कारणले रगत दिने तयारीका साथ आएका २० भन्दा बढी महिलाले रक्तदान गर्न पाएनन् ।

सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>