समाचारआइतबार, जेठ ३१, २०७२
एमनेस्टी नेपालका ८ जना पदाधिकारीद्वारा राजीनामा
एमनेस्टी इन्टरनेशन नेपालको राष्ट्रिय कार्यसमितिका ८ जना पदाधिकारीले संस्थाका क्रियाकलाप प्रति असन्तुष्टि जनाउँदै राजीनामा गरेका छन् ।
पूर्व सभापतिद्वय कृष्ण पहाडी र कृष्ण कँडेल एमनेष्टीको अभियानमा आफूहरु सहभागी नहुने घोषणा गरेको केही दिनमै ११ सदस्यीय राष्ट्रिय कार्यसमितिका ८ जना पदाधिकारीले राजीनामा गरेका हुन् ।
उनीहरुले एमनेष्टी इन्टरनेशनले आमरणमा अनशनका क्रममा निधन भएका गोरखाका नन्दप्रसाद अधिकारीका बारेमा केही नबोलेको तर, सशस्त्र विद्रोहको आह्वान सहित वेग्लै मधेश राष्ट्रका लागि अभियानरत सीके राउतका पक्षमा लागेको भन्दै राजीनामा गरेका हुन् ।
राजीनामा दिने पदाधिकारीमा उपाध्यक्ष प्रताप पौडेल, महासचिव डिकप्रसाद घिमिरे, कोषाध्यक्ष प्रविन अग्रवाल र सदस्यहरु अर्जुन अधिकारी, पद्मिनी थापा, मञ्जुदेवी अर्याल, शेषकुमारी निरौला र हेरम्बदेव भट्टराई छन् ।
राजीनामा सम्बन्धमा:
मिति २०७२ वैशाख ३ र ४ गते वसेको एमनेस्टी ईन्टरनेसनल नेपालको राष्ट्रिय कार्यसमितिको वैठकले नेपालका केहि संवेदनशील विषयका सन्दर्भमा अन्तराष्ट्रिय सचिवालयले लिएको नीतिका वारेमा निम्न वमोजिमको निर्णय गरि अन्तराष्ट्रिय महासचिवलाई ध्यानाकर्षण गराएको थियोः
‘एकातिर न्यायका लागि अनसनरत नन्दप्रसाद अधिकारीको अस्पतालको सैयामा नै मृत्युको सम्बन्धमा ए.आई.अन्तर्राष्ट्रिय सचिवालयको मौनता र अर्कोतिर सिके राउत (सशस्त्र विद्रोहको आह्वान सहित अलग मधेस राष्ट्रका लागि अभियानरत) को रिहाइको लागि ए.आई. अन्तर्राष्ट्रिय सचिवालयले सेप्टेम्बरमा व्यक्त गरेको चासो, अक्टोवरमा जारी गरेको विज्ञप्ति, पुनः डिसेम्बरमा व्यक्त गरेको सार्वजनिक चासो र त्यसबाट उत्पन्न प्रतिक्रियाबाट ए.आई. को छवि नेपालमा नकारात्मक पर्न गएको र ए.आई. नेपालको भविष्य र सदस्यहरुको सुरक्षामा समेत आघात पर्न गएको यथार्थ हो ।
यिनै यथार्थलाई २१ डिसेम्बर २०१४ का दिन काठमाडौँमा सम्पन्न ए.आई. अन्तर्राष्ट्रिय सचिवालयका प्रतिनिधिहरु मिनार पिम्पल, अनिल पन्त एवं ए.आई. नेपालका पदाधिकारी तथा सदस्यहरु सम्मिलित वैठकमा ए.आई. नेपालका अध्यक्ष सूर्यबहादुर अधिकारीले उठाउनुभएको हो, जुन कुरा उक्त बैठकको माइन्युटमा समेत लिपिवद्ध छ । यसका बाबजुद सन् २०१४\१५ को ए.आई.को वार्षिक प्रतिवेदनमा सिके राउतको सन्दर्भमा Abuse in the Terai Region शीर्षकमा उल्लेख हुँदा ए.आई. नेपालले अझ अप्ठ्यारो महसुस गरेको छ । यस सन्दर्भमा ए.आई. का महासचिवको ध्यान आकृष्ट गर्ने निर्णय गरियो । यस सम्बन्धमा ए.आई. अन्तर्राष्ट्रिय सचिवालयबाट धारणा प्राप्त भएपछि सदस्यहरुलाई अवगत गराउने निर्णय गरियो ।’(निर्णय नं.११०५\२०७२ वैशाख ३ र ४)
उपरोक्त निर्णयका सन्दर्भमा एमनेस्टी ईन्टरनेसनलका अन्तराष्ट्रिय महासचिवको ध्यानाकर्षण गराउँदा हालसम्म कुनै धारणा नआएको र एमनेष्टी ईन्टरनेसनलले सिके राउतको वारेमा लिएको चासो र नीतिले गर्दा आम जनमानसवाट ‘ विखण्डन र हिंसाको वकालत गर्ने, महिलाहरूको अस्मितामा प्रहार गर्ने, आम नागरिकको आत्मसम्मान विपरित मानवताविरोधि टिप्पणी गर्ने सिके राउतलाई एमनेस्टीले समर्थन गरेको हो ? भन्ने प्रश्न उठिरहेको सन्दर्भमा विगत केहि समयदेखि ए.आईका सदस्य, युथ नेटवर्क, समुह र सुभचिन्तकमा थप असहज महशुस भइरहेको छ । जवकि ए.आई नेपालको यसमा कुनै संलग्नता नै छैन । पछिल्ला दिनहरूमा ‘एमनेष्टीले नन्दप्रसाद अधिकारीका वारेमा नवोलेको र सिके राउतलाई वोकेको’ भन्ने आशयका समाचारहरू संचार माध्यममा आईरहँदा आम जनमानसमा एमनेष्टीप्रतिको विश्वसनीयता र छविमा समेत थप नकारात्मक प्रभाव पर्दै गएको अवस्थामा वारम्वार एमनेस्टी नेपाल शाखाले अन्तराष्ट्रिय सचिवालयलाई यो संवेदनशिलताको वारेमा ध्यानाकर्षण गराउँदै आएको हो । तर एकातिर अन्तराष्ट्रिय सचिवालय लण्डनले यस वारेमा कुनै जवाफ नपठाउने र अर्कोतर्फ एमनेस्टी नेपालका समुह तथा पदाधिकारीहरूले यही कारणले निरन्तर असहजताको सामना गर्नुपरेको अवस्थामा उपरोक्त विषयमा अन्तराष्ट्रिय सचिवालयले लिएको नीति प्रति असहमति प्रकट गरिसके पछि हामी राष्ट्रिय कार्यसमितिमा रहिरहनु उपयुक्त देखिएन । अतः आज मिति २०७२ जेठ ३० गते वसेको राकास वैठकमा उपरोक्त विषयमा छलफल पश्चात ११ सदस्यीय राष्ट्रिय कार्य समिति मध्ये हामी निम्न पदाधिकारी तथा सदस्यहरूले राजीनामा दिएका छौं ।
राजिनामा दिने पदाधिकारीहरूः
१.प्रताप पौडेल-उपाध्यक्ष
२.डिक प्रसाद घिमिरे-महासचिव
३.प्रविन अग्रवाल-कोषाध्यक्ष
४.अर्जुन अधिकारी-सदस्य
५.पद्मिनी थापा-सदस्य
६ मञ्जु देवि अर्याल-सदस्य
७.शेषकुमार निरौला-सदस्य
८.हेरम्बदेव भट्टराई-सदस्य
