समाचारआइतबार, जेठ ३१, २०७२
मन्त्रिपरिषद वैठक: शेष घले सरकारका विशेष दूत
सरकारले गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेलाई विशेष दूतमा नियुक्त गरेको छ ।
३१ जेठमा बसेको मन्त्रिपरिषद बैठकले घलेलाई पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन सरकारको विशेष दूत बनाएको हो ।
त्यस्तै वैठकले राष्ट्रिय पर्यटनको प्रवर्द्धन गर्न राष्ट्रिय पर्यटन प्रवर्धन समिति गठन गरेको छ । पर्यटन मन्त्री कृपासुर शेर्पा अध्यक्ष रहेको समितिको उपाध्यक्ष पर्यटन सचिव सुरेशमान श्रेष्ठ र सदस्यहरुमा पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि छन् ।
उपत्यकाका तीन जिल्ला संकटग्रस्त क्षेत्र
मन्त्रीपरिषद्ले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
महाभूकम्प लगत्तै १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा अब तीन जिल्लालाई मात्र संकटग्रस्त क्षेत्र मानिने छ ।
यस्तै, २ जना सहसचिवलाई सरकारले कामु सचिवमा बढुवा गरेको छ । राजेन्द्र नेपाललाई महालेखा नियन्त्रक र केदारबहादुर अधिकारीलाई बढुवासँगै नेपाल ट्रष्टको कार्यालय सचिवमा नियुक्त गरिएको छ ।
