समाचारशुक्रबार, आषाढ ४, २०७२
१६ बुँदे खारेज नगरे आन्दोलनः गजुरेल
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले चार दलले गरेको १६ बुँदे सम्झौता खारेज नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
सिरहाको लहानमा आज विहान आयोजित पत्रकार सम्मेलनमा उनले १६ बुँदे सम्झौाको आधारमा संविधान जारी भए आगो लगाउने चेतावनी दिए । उनले भने, ‘‘१६ बुँदे सम्झौताको विरोध गर्ने शक्तिहरुसँग छलफल जारी छ । उक्त पार्टीहरुसँग कार्यगत एकता गरेर हामी आन्दोलनमा जान्छौं ।’’
उनले १६ बुँदे सम्झौता गरेर चार दलले जनतालाई धोका र विश्वासघात गरेको बताए । उनले उक्त सम्झौताका आधारमा बन्ने संविधान पश्चगामी हुने बताए ।
“बहुदलीय संसदीय व्यवस्थाकै विरुद्धमा हामीले १० वर्षे जनयुद्ध लड्यौं”, उनले भने, “तर फेरि त्यही संसदीय व्यवस्था कायम राख्न सम्झौता भएको छ । यो आपत्तिजनक छ । पुष्पकमल दाहालले सम्झौतामा हस्ताक्षर गरेर जनतालाई धोका दिनुभएको छ ।”
