समाचारआइतबार, आषाढ ६, २०७२
पच्चीस विद्यार्थीलाई भारतमा इन्जिनियरिङमा छात्रवृत्ति
भारतले भूकम्पपीडित नेपाली विद्यार्थीलाई लक्षित गरी २५ जनालाई इन्जिनियरिङ विषयमा छात्रवृत्ति दिने घोषणा गरेको छ ।
बैंङ्गलोरस्थित सम्पूर्ण इन्ष्टिच्यूट अफ टेक्नोलोजी एण्ड रिसर्च विश्वविद्यालयबाट उपलब्ध गराइने एक करोड भारु बराबरको सो छात्रवृत्ति दश जोड दुई उत्तीर्ण नेपाली छात्रछात्राले पाउनेछन् ।
नेपाल चेम्बर अफ कमर्सले छनोट गरी सिफारिस गरेका ती प्रत्येक विद्यार्थीले रु छ लाख ५० हजारका दरले छात्रवृत्ति प्राप्त गर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आज यहाँ भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँले नेपालमा आएको भूकम्पबाट भएको धनजनको क्षतिबाट प्रभावितलाई सहयोग गर्ने भारत सरकारको सदाशयअनुरुप प्राप्त यो सहयोगबाट नेपाली विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
विश्वविद्यालयका अध्यक्ष डा बीएसएन नायडूले नेपालमा गएको भूकम्पलाई निकटबाट नियालिरहेको भारतले भूकम्पबाट प्रभावित विद्यार्थीमध्येबाट प्रविधि क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले सो सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो ।
विश्वविद्यालयका प्रिन्सिपल सम्पूर्ण नायडूले भूकम्प प्रतिरोधी घर निर्माण गर्न सघाउ पु¥याउने खालका जनशक्ति तयार पार्नु विश्वविद्यालयको लक्ष्य रहेको बताउनुभयो ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले सो इन्ष्टिच्युटमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, कम्प्युटर साइन्स तथा मेकानिकल र सिभिल विषयमा अध्ययन गर्ने अवसर पाउने छन् ।
