समाचारबिहीबार, आषाढ १०, २०७२

चिनियाँ विदेशमन्त्रीको भूकम्प पीडित छात्रासँग भलाकुसारी

हिमालखबर

wang yeeपुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका चिनिया विदेशमन्त्री वाङ यीले सैनिक मञ्च टुँडिखेलमा अस्थायी बसोबास गर्दैआएका भूकम्पपीडितसँग बसोबासको अवस्थाबारे कुराकानी गरेका छन् ।

सैनिक मञ्चमा आश्रय लिइरहेकी धादिङ मार्पाक स्थायी घर भई नेपाल कमर्स क्याम्पसमा अध्ययनरत सृष्टी पन्त र काभ्रे स्थाइ घर भएकी गर्भवती महिला पवित्रा लामासँग उनले भलाकुसारी गरेका थिए।

विदेशमन्त्री वाङसँगको छलफलपछि छात्रा पन्तले भूकम्पपीडित विद्यार्थीलाई समेत समेट्ने गरी चीनले प्रदान गर्दै आएको शैक्षिक छात्रवृतिको कोटा बढाउने प्रतिवद्धता चिनिया विदेशमन्त्रीले व्यक्त गर्नुभएको जानकारी दिइन् ।

पीडित परिवारसँग कुरा गर्दै मन्त्री वाङ यीले हिमाल शृङ्खला वारिपारि रहेका नेपाल र चीनबीच अन्यन्तै मित्रवत् र दाजुभाइको जस्तो सम्बन्ध रहेको जनाउँदै पीडित परिवारका लागि बासस्थान र पुनःनिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

टुँडिखेलमा हाल ५१ जिल्लाका ४५९ घरपरिवारका एक हजार ४८८ जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये डेरावालको सङ्ख्या एक हजार ३९३ रहेको छ ।

भूकम्प गएको केही दिनसम्म टुँडिखेलमा चीन सरकारले उपलब्ध गराएको १६५ थान पालभित्र १३ हजार ३५० जनासम्मले आश्रय लिएका थिए । उनीहरुलाई एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले एक हप्ता अगाडिसम्म खानपिनको व्यवस्था गरेको थियो ।

सो स्थानमा भूकम्पले पूर्ण रुपमा घर भत्काएर आश्रय लिएकाको सङ्ख्या ३५० रहेपनि अन्य भने सुकुम्बासी र काठमाडौँको सहरी क्षेत्रमा भाडामा बस्दै आएका नागरिक छन् ।

‘थप सहयोग दिन्छौं’

टुँडीखेलमा आश्रय लिइरहेकासँगको भेटपछि पत्रकारसँग कुरा गर्दै विदेशमन्त्री वाङ यीले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई गरिने सहयोग द्विपक्षीय हित र छलफलका आधारमा तय गरिने जानकारी दिए ।

उनले भने, “हामी नेपाललाई पूर्ण सहयोग उपलब्ध गराउँछौं, आपसी छलफल र द्विपक्षीय हितका आधारमा नै सहयोगको क्षेत्र तथा प्राथमिकता निर्धारण हुनेछ ।”

नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनपछि चिनिया उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल नेपाल आउने र थप सहयोग उपलब्ध गराउने विषयमा कुराकानी गर्नेसमेत उनले जानकारी दिए ।

चीन सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि भौतिक पूर्वाधार, विद्यालय, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रको नवनिर्माण, मानवीय तथा अन्य क्षेत्रमा सहयोगको क्षेत्र निर्धारण गरेको विदेशमन्त्री वाङको भनाइ थियो ।

‘नेपालीको मुहार हँसिलो’
“हामी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, सहयोगका क्षेत्र र प्राथमिकता आपसी सल्लाहका आधारमा तय गर्छौं, नेपाल र चीनबीचमा दाजुभाइको जस्तो मैत्रीपूर्ण सम्बन्ध छ,” विदेशमन्त्री वाङले भने ।

उनले विपद्‌मा पर्दासमेत नेपालीको हँसिलो मुहार र आत्मविश्वासले आफूहरुलाई थप ऊर्जा मिलेको धारणा व्यक्त गरे ।

उनले भने, ‘‘विपद्पछि पनि नेपालीको आत्मविश्वास उत्तिकै देखिएको छ । उनीहरु आशावादी छन् । अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य सहयोग हुनेछ । त्यसले पुनःनिर्माणको थप आधार तयार पार्छ ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>