समाचारबिहीबार, आषाढ १०, २०७२

‘कस्ता नेता पाइएछ, दिक्क लाग्छ!’

हिमालखबर

Driver Bikram Mahto 1विक्रम महतो, माओवादीले माडीमा विद्युतीय धरापमा पारेको बसका चालक

मेरो घर चितवनको माडी नगरपालिका–२ नयाँ पर्सा हो। सात कक्षासम्म मात्र पढ्न सकें। चार वर्ष हेल्परको काम गरेपछि ड्राइभर बनें। २५ वर्षे उमेरमा ना १ ख ३२४५ नम्बरको बस चलाउन थालेको एक वर्ष भएको थियो। अघिल्लो रात बगहीमा बसेर २३ जेठ २०६२ को बिहान पौने ७ बजे यात्रुले भरिएको बस भरतपुरतिर हाँके। श्रीमतीले पूजाको लागि केरा ल्याउन भनेकीले उनलाई नयाँ पर्सा चोकमा कुर्न भनेको थिएँ। तर, पौने ८ बजे बाँदरमुढे खोलामा पुग्दा ड्याङ्ग ठूलो आवाज आयो अनि बेहोश भएछु।

केही समयपछि अस्पतालमा होश खुलेपछि थाहा भयो, माओवादीहरूले यात्रुवाहक बसलाई पार्न बम ओछ्याएका रहेछन्। मैले छतमा समेत खचाखच यात्रुलाई सम्झिएँ। तीमध्ये ३८ जना यात्रुलाई ठाउँको ठाउँ मारेछन्, मसहित ७२ जना घाइते भएका रहेछौं।

सादा पोशाकका तीन जना सुरक्षाकर्मी चढेको हुनाले बसलाई बमले उडाएको पछि सुनियो। हामी ड्राइभरलाई धेरै गाह्रो थियो, त्यो वेला। माओवादीले सुरक्षाकर्मी नबोक्नु भनेर धम्की दिएका थिए। सुरक्षापट्टिकाहरू पनि माओवादीलाई नचढाउनु भन्थे, तर ती दुवैमध्ये जो आए पनि रोक्ने तागत कसको?

२२ जेठ २०६२ मा चितवनको बाँदरमुढेमा माओवादीको एम्बुसमा परी दुर्घटनाग्रस्त बस।

२२ जेठ २०६२ मा चितवनको बाँदरमुढेमा माओवादीको एम्बुसमा परी दुर्घटनाग्रस्त बस।

मलाई जीउभरि सिसाले काटेको बाहेक बाहिरी चोट केही थिएन, तर भित्री चोटले कमजोर बनायो। पछिसम्म पनि कानमा त्यही ‘ड्याङ्ग’ आवाज आइरहन्थ्यो। घटनापछिको तीन वर्ष न्याय माग्दैमा बित्यो। बाँदरमुढे पीडित समाज बनाएर सरकारलाई दबाब दियौं।

माओेवादीका अध्यक्ष पुष्पकमल दाहालले ‘जनयुद्ध’ को सबभन्दा ठूलो भूल भएको बाँदरमुढेमै आएर माफी माग्ने भने, तर आएनन्। हामी सोझासीधाले क्षतिपूर्ति पनि पाएनौं। त्यस्तो अवस्थामा ऋणपान गरी कतार गएर चार वर्ष ट्यांकर चलाएँ। त्यहाँको कमाइले ट्रयाक्टर किनेको छु। भाडामा ढुंगागिट्टी ओसार्छु, खेत जोत्छु।

बाँदरमुढे घटनाका ७२ घाइतेमध्ये १२ जना कुनै काम गरेर खान नसक्ने अवस्थामा छन्, सरकारले पनि हेरेको छैन। न त घटनाका अपराधीहरूमाथि कारबाही नै भएको छ। म एक चालक स्टेयरिङ सम्हालेर जीवनलाई सही दिशा दिंदैछु, तर देश हाँक्नेहरूले एक थान संविधान जारी गर्न पनि सकेनन्। कस्ता नेता पाइएछ, सम्झ्ँदा सारै दिक्क लाग्छ।

(चालक महतोसँग कृष्णराज सर्वहारीले गरेको कुराकानीमा आधारित।)

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>