समाचारशुक्रबार, आषाढ ११, २०७२
नयाँ ट्याक्सी दर्ता गरिने
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५ वर्षपछि नयाँ ट्याक्सी दर्ता खुल्ला गर्ने निर्णय गरेको छ ।
२०५७ सालमा ७ हजार ५०० ट्याक्सी रहेका बेला मन्त्रालयले नयाँ दर्तामा रोक लगाएको थियो । रोक लगाएपछि १५ वर्षको समयमा एक हजार ८५० ट्याक्सी घटेको मन्त्रालयका यातायात शाखा प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर नवीनकुमार पोख्रेलले जानकारी दिए ।
हाल उपत्यकामा ५ हजार ६५० ट्याक्सी मात्र सञ्चालनमा छन् ।
“घटेका ट्याक्सीको सङ्ख्या पूर्ति हुने गरी मन्त्री विमलेन्द्र निधिको गत फागुन १७ गतेको निर्णयअनुसार यातायात व्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीको संयोजकत्वमा गठित चार सदस्यीय कार्यदलको प्रतिवेदनका आधारमा ट्याक्सी दर्ता गर्न मन्त्रालयले निर्देशन दिएको हो”– यातायात शाखा प्रमुख पोख्रेलले भने ।
डिलक्स र सुपरडिलक्स ट्याक्सी
मन्त्रालयको जेठ २८ गतेको निर्णयअनुसार ट्याक्सीलाई तीन वर्गमा विभाजन गरिने भएको छ ।
यसअनुसार साधारण वर्गको ट्याक्सीमा ८०० क्युविक सेन्टिमिटर इन्जिनको क्षमताभन्दा माथिको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।
वातानुकूलित तथा एक हजार २०० क्युविक सेन्टिमिटरभन्दा माथि इन्जिन क्षमता भएकालाई ‘डिलक्स’ वर्गको ट्याक्सीमा वर्गीकरण गरिएको छ ।
त्यसैगरी, वातानुकूलित सुविधासहित इन्जिनको क्षमता एक हजार ३०० भन्दा माथिकालाई ‘सुपर डिलक्स’ ट्याक्सीको मान्यता दिइने मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर पोख्रेलले जानकारी दिए ।
‘डिलक्स’ ट्याक्सीलाई २० प्रतिशत र ‘सुपर डिलक्स’लाई ५० प्रतिशतसम्म अहिले कायम रहेको भाडामा बढाएर लिन सक्ने गरी मन्त्रालयले भाडा कायम गरेको छ ।
उपत्यकामा हाल सञ्चालित साधारण वर्गको ट्याक्सीको स्तरमा नघट्ने गरी पुराना एक हजार ८५० का स्थानमा नयाँ दर्ता गर्न लागिएको हो ।
२० वर्ष पुराना ट्याक्सीका स्थानमा नयाँ ट्याक्सी दर्ता गर्न मन्त्रालयले २०७२ मङ्सिर मसान्तसम्मको समय तोकेको छ ।
अबदेखि बीस वर्ष पुग्नु तीन महिना अगावै पुराना ट्याक्सीलाई पत्रु गरी नयाँ सङ्ख्यामा नयाँ साधारण ट्याक्सी दर्ता गर्ने व्यवस्थालाई निरन्तरता दिन लागिएको छ ।
साधारणबाहेक ५०० ट्याक्सी वातानुकूलित डिलक्स आयात गर्न अनुमति दिन लागिएको हो ।
यसका लागि निजी कम्पनी, सार्वजनिक कम्पनी र सहकारीलाई अनुमति दिने निर्णय पनि मन्त्रालयले गरेको छ ।
यसरी ल्याइएका ट्याक्सीलाई ६ महिनाको अनुभवपछि ‘सुपर डिलक्स’का रुपमा विकसित गरिने मन्त्रालयको कार्यक्रम रहेको छ ।
२० वर्ष अवधि नपुगे पनि कुनै दैवी प्रकोप वा दुर्घटनाका कारण सञ्चालन गर्न अयोग्य देखिएका र १५ वर्ष पुगी स्वेच्छिक रुपले पत्रु गरी नयाँ ट्याक्सी दर्ता माग गरेमा साधारणमा सञ्चालनका लागि अनुमति दिइने भएको छ ।
भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ‘बी’ वर्गको चालक अनुमति प्राप्त परिवारका एक सदस्यलाई एउटा ट्याक्सी आयात गरी दर्ताका लागि अनुमति दिने निर्णय गरिएको छ ।
यसअन्तर्गत अहिलेलाई ५०० ट्याक्सी र आवश्यकता देखिएमा थप गर्न दिइने पनि मन्त्रालयले जनाएको छ ।
रासस
