समाचारशुक्रबार, आषाढ ११, २०७२
नयाँ संविधानको पहिलो मस्यौदा तयार भयो
मस्यौदा समितिले नयाँ संविधानको पहिलो मस्यौदा तयार पारेको छ ।
एकीकृत मस्यौदा समितिको भर्खरै सकिएको बैठकले नयाँ संविधानका विवादित विषयहरुमा सहमति जुटाएपछि पहिलो मस्यौदा तयार भएको हो । मस्यौदा उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरिरहेको एकीकृत मस्यौदा समितिले पहिलो मस्यौदा तयार पारेको समिति सदस्य प्रकाश ज्वालाले बताए ।
उनका अनुसार अहिले राति ८ बजे बस्ने समितिको बैठकमा सभासद्हरुले पहिलो मस्यौदा अध्ययनका लागि पाउनेछन् । उक्त मस्यौदा अध्ययनपछि १२ असार दिउँसो १ बजे बस्ने बैठकले पहिलो मस्यौदा पारित गर्दै संविधासभामा बुझाउनेछ ।
कृष्णप्रसाद सिटौला सभापति रहेको मस्यौदा समितिले तयार पारेकाे पहिलो मस्यौदा १४ असारमा बस्ने संविधानसभा बैठकमा पेश हुनेछ । नयाँ संविधानमा ३५ भाग र ३१२ धारा हुनेछ ।
६ महीनाभित्र स्थानीय चुनाव
मस्यौदा समितिमा ६ महीनाभित्र स्थानीय निर्वाचन गराउने सहमति भएको छ भने पाँच बर्षभित्र अनिवार्य स्थानीय चुनाव गराउनेबारे थप छलफल हुँदै जानेछ ।
संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिमा सहमति जुट्न नसकेका केही विषयहरु भने कार्य व्यवस्था परामर्स समितिमार्फत सहमति जुटाइने भएको छ । उच्च स्तरीय राजनीतिक छलफलमार्फत उक्त विवादित विषयमा सहमति खोज्नेगरी मस्यौदा निर्माण कार्यलाई निष्कर्षमा पुर्याइएको छ ।
नयाँ संविधानका प्रमुख विवादित संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति जुटाएपनि प्रस्तावनामा बहुलवाद राख्ने कि नराख्ने, संविधान संशोधन, स्थानीय स्रोतमा अग्राधिकारलगायत केही विषयमा सहमति जुट्न सकेको छैन ।
