समाचारशनिबार, आषाढ १२, २०७२
संविधानको मस्यौदामा विवाद
संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले तयार पारेको एकीकृत मस्यौदाको विषयमा पूर्ण सहमति जुटाउनका लागि बसेको प्रमुख चार राजनीतिक दलको बैठक बिनानिष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा १२ असार अपराह्न भएको छलफलमा कार्यदलले समितिमा पेस गरेको मस्यौदाका विषयमा छलफल भए पनि विवादित केही विषयमा सहमति नभएपछि पुनः साँझ ५ बजे बैठक बस्ने सहमति भएको छ।
बैठकपछि नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले मस्यौदा समितिले तयार पारेको मस्यौदालाई थप परिष्कृत बनाउन र कम विवादित बनाउनका लागि बैठक केन्द्रित रहे पनि सबै विषयमा सहमति जुटाउन आन्तरिक छलफल गरी पुनः साँझ बैठक बस्ने बताए ।
दलबीच बहुलवाद, नागरिकता, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायतका विषयमा विवाद छ ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संवैधानिक समितिले तयार पारेको मस्यौदा एकलौटी र दलबीच भएको १६ बुँदे सहमतिको मूल मर्म विपरीत रहेको बताए ।
उनले मजदुर, किसान, युवाको प्रतिनिधित्वलगायत विषयमा विगतमा भएको सहमति विपरीत समितिले मस्यौदा तयार पारेको भन्दै आपत्ति प्रकट गरे ।
समितिअन्तर्गतको कार्यदलले तयार पारेको मस्यौदामाथि समितिको पूर्ण बैठकमा छलफल हुने कार्यक्रम छ । रासस
