समाचारशनिबार, आषाढ १२, २०७२
सडकलाई रु ३०अर्ब बजेट
भौतिक योजना तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधिले मुलुकभरका सडक निर्माणका लागि आफ्नो मन्त्रालयले यस वर्ष रु ३० अर्ब बजेट छुट्याएको बताएका छन् ।
वीरगन्ज–पोखरीया सडकखण्डअन्तर्गत विन्ध्यवासिनी–पोखरीया सडकखण्डको कालोपत्र निर्माण कार्यको शिलान्यासपछि १२ असारमा पोखरीयामा आयोजित कार्यक्रममा मन्त्री निधिले विगतमा ठेकेदार कम्पनीको गैरजिम्मेवारीपनका कारण जिल्लाका विकास निर्माणका अधिकांश योजना समयमा पूरा नभएकाले सरकारले अब समयमा गुणस्तरीय काम गर्नेलाई पुरस्कार र समयमा काम नगरी भाग्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्ने नीति लिएको जानकारी दिए ।
वीरगन्ज–पथलैया सडकखण्ड ६ लेनको निर्माणलाई तत्काल अगाडि बढाइने भन्दै उनले थपे, “मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि राज्यले सडक र पुलपुलेसाजस्ता भौतिक संरचनाको निर्माण कार्यलाई विशेष प्राथमिकता दिइएको छ ।”
डिभिजन सडक कार्यालय हेडौँडाका प्रमुख रवीन्द्रलाल दासले करिब रु १४ करोड ११ लाखको लागतमा विन्ध्यवासिनीदेखि पोखरीयासम्म ८ किमी बाटो दुई वर्षभित्र कालोपत्र गर्नका लागि आशिष एन्ड डिएस निर्माण कम्पनी हेटौँडासँग सम्झौता भइसकेको जानकारी दिए ।
सभासद् सुरेन्द्रप्रसाद चौधरी, जयप्रकाश थारु, राजकुमार गुप्ता, राधेचन्द्र यादव र रामअयोध्या यादवले जिल्लाको विकासका लागि महत्वपूर्ण मानिएको वीरगन्ज–पोखरीया–जानकीटोल–ठोरी सडक तथा आत्माराम पथको स्तरवृद्धि र कालोपत्र हुन नसक्नु नै जिल्लाको विकासको मुख्य बाधकका रुपमा देखिएको गुनासो गरेका थिए ।
यसअघि मन्त्री निधिले वीरगन्ज–पोखरीया सडकखण्डअन्तर्गत विन्ध्यवासिनी– पोखरीया सडकखण्डको कालोपत्र निर्माण कार्यको पोखरीयामा शिलान्यास गर्नुभएको थियो ।
