समाचारशनिबार, आषाढ १२, २०७२
राष्ट्र सङ्घका निर्देशक आउँदै
भूकम्पबाट अतिप्रभावित क्षेत्रमा भएका मानवीय सहायताको अनुगमन, क्षतिको आँकलन तथा त्यसमा संलग्न सरकारी एवम् गैरसरकारी निकायका पदाधिकारीसँग छलफल गर्न संयुक्त राष्ट्र सङ्घका मानवीय मामिला समन्वय कार्यालयका निर्देशक जोन जिङ नेपालको चारदिने भ्रमणमा १३ असारमा नेपाल आउँदै छन् ।
भ्रमणका क्रममा उनले प्रभावित परिवार, नेपाल सरकारका केन्द्रीय एवम् स्थानीय तहका पदाधिकारी, स्थानीय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि र मानवीय सहायतामा वित्तीय एवम् प्राविधिक सेवा प्रवाहमा संलग्न साझेदारसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।
निर्देशक जिङले नेपालका लागि उक्त कार्यालयका मानवीय समन्वयकर्ता जिमी म्याकगोल्डरिकका साथ गर्ने भूकम्प अतिप्रभावित क्षेत्रको भ्रमणमा समम्या समाधानमा भएका प्रगतिको लेखाजोखासमेत हुने जनाइएको छ ।
