समाचारआइतबार, आषाढ १३, २०७२
पर्खालको मापदण्ड
१२ वैशाखमा गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण हालसम्म ८ हजार ८४४ को मृत्यु भएको र २२ हजार ३०७ घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोख्रेलका अनुसार काठमाडौँमा मात्रै १२ वैशाखमा ११ र २९ मा एक जनाको पर्खाल भत्किएर मृत्यु भएको छ ।
अन्य जिल्लाको यकिन विवरण प्रप्त नभए पनि भूकम्पले भत्काएका पर्खाल र प्रवेशद्वारबाट झन्डै १०० को हाराहारीमा हताहती भएको हुन सक्ने अनुमान प्रहरीको छ ।
सिंहदरबारक्षेत्र, शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालय, नारायणहिटी दरबार, प्रधानमन्त्री निवास बालुवाटार, अधिकांश राणाकालीन दरबार, सेनाको ब्यारेक तथा प्रहरी परिसर, दूतावास, विभिन्न कलेज, निजी विद्यालय, होटल र सम्पन्न व्यक्तिका भवनको सुरक्षाका लागि बनाइएका पर्खाल भूकम्पबाट सुरक्षित रहेनन् ।
निजी घर राम्रैसँग बनाइए पनि अधिकांशतः पर्खाल बनाउँदा घर बनाउँदा खेर गएको सामानको प्रयोग गर्ने, जग राम्रोसँग नखन्ने, कमसल इँटा र ढुङ्गाको प्रयोग गर्ने, छड र सिमेन्टको प्रयोग कम गर्नेजस्ता प्रवृत्ति अद्यापि राजधानीका पर्खालमा देख्न सकिन्छ ।
ती धराप पर्खाल बटुवाका लागि सधैँ कालसँग जोरी खोजेजस्तो भइरहेका छन् ।
महाँकाल मन्दिरसँगैको टुँडिखेल प्रवेश गर्ने द्वार, मीनभवनस्थित शान्तिनगर प्रवेशद्वार, ललितपुरको लुभु बजारको पूर्वपश्चिमकै प्रवेशद्वार पनि भग्नावशेषमा परिणत भएका छन् ।
अब यी प्रवेशद्वार पुनः निर्माण गर्दा निश्चित मापदण्ड अपनाउनु जरुरी छ । राजधानीमा नयाँ घर बनाउँदा नक्सा पास अनिवार्य गर्नुपर्ने भए पनि पर्खाललगायत अन्य संरचनाको नक्सा पास गर्नुपर्ने नियम भने सरकारको कमजोरीका कारण प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
“सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सिंहदरबारको वरिपरि जालीसहित ५ फिट ६ इन्चको पर्खालमा साढे दुई मिटरको जाली राख्नुपर्ने मापदण्ड बनाएको बर्षौं भइसक्यो तर त्यसको पालना सिंहदरबारमै हुन सकेको छैन”–काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त भाइकाजी तिवारी भन्छन् ।
अझ पर्खालमाथि राखिने भाला र काँडेतार भूकम्पपछि त्रस्त बटुवालाई सधैँ गिज्याएजस्तो हुन थालेको उनले बताए ।
“कारागारमा कैदी थुन्नका लागि ठुल्ठुला पर्खाल बनाएझैँ सुरक्षाका लागि भन्दै बनाइएका अग्ला र बाक्ला पर्खाल त हाम्रा लागि ज्यानमारा हो,” स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डे भन्छन् ।
अमेरिका, युरोपलगायतमा देशमा धेरैजसो घरमा पर्खाल नै हुँदैनन् केहीमा भने जालीको पारदर्शी पर्खाल देख्न पाइन्छ तर नेपाललगायत दक्षिण एशियाका केही मुलुकमा देखिने यस्ता अजङ्गका पर्खाल मानवीय सुरक्षाको दृष्टिले राम्रो नहुने उनले बताए ।
वास्तुविद् समाजका अध्यक्ष थापा भन्नुहुन्छ, “पर्खालको निर्माणले सरकार र जनताबीचको दूरी बढायो । सरकार पर्खालभित्र र जनता पर्खालबाहिर रहन थाले, पर्खालकै कारण दुई छिमेकी बीचको आत्मीयतामा कमी हुन थाल्यो ।
बोलचाल कम हुँदा छरछिमेकमा भैपरी अवस्थामा पनि मानवीय सहयोग पनि कम हुँदै गएको छ । घर जतिसुकै राम्रो बनाए पनि पर्खालमा त्यति ध्यान नदिँदा भूकम्पजस्ता प्राकृतिक प्रकोपमा अनाहकमा सयौँ व्यक्तिले ज्यानसमेत गुमाउनुपरेको हो ।
युरोप, अमेरिकालगायत विकसित महादेशमा सुरक्षाका लागि दुई तीन फि उचाइको पर्खाल बनाएर त्यसमाथि जाली राख्ने गरिन्छ, त्यस्तै व्यवस्थाका लागि हाल निर्माण गरिएका पर्खालको केही भाग हटाएर जाली राखेर विद्यमान संरचनालाई व्यवस्थित गर्नु राम्रो हुन्छ– तिवारीको भनाइ छ ।
स्थानीय विकास मन्त्रालयले अहिले संशोधित मापदण्डमा तीन फिट तीन इन्च उचाइको पर्खालमा दुई फिट ६ इन्च उचाइको जाली राख्न पाइने व्यवस्था गरेकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याइनुपर्ने र अबका दिन घरको नक्सा पास गर्दा पर्खालको नक्सालाई अनिवार्य गराउनुपर्नेमा उनको जोड छ ।
पर्खालको इतिहास
नेपालमा घरवरिपरि पर्खाल बनाउने प्रचलन मल्लकालदेखि नै आरम्भ भएको मानिन्छ । त्यस समय सहर तथा बस्तीको सुरक्षाका लागि अग्ला तथा फराकिला पर्खाल बनाइन्थे ।
राणाकालमा ठूलठूला दरबार बनाउने र त्यसलाई घेर्न अग्ला पर्खाल बनाएर प्रवेशद्वारसमेत बनाउन थालियो । त्यसैको सिको राणाका अन्य भाइभारदार र उच्च तहका कर्मचारीले पनि गर्न थाले ।
विसं २००७ को राजनीतिक परिवर्तनपछि भने सम्पन्न व्यक्तिबीच पर्खाल निर्माण गर्ने होडबाजी नै चल्न थाल्यो ।
त्यति मात्र होइन तीन–चार आनामा बनेको घरमा पनि पर्खालले घेरिँदा हिजोआज सहरबजारमा पर्खालै पर्खाल देखिन थालेको नेपाल वास्तुविद् समाजका अध्यक्ष किशोर थापा बताउँछन् ।
मदन गौतम, रासस
