समाचारसोमबार, आषाढ १४, २०७२
संविधानसभाको बैठक साँझ ७ बजे
नयाँ संविधानको प्रारम्भिक मस्यौदा तयारीमा समय लागेपछि साँझ ७ बजे मात्रै संविधानसभाको बैठक हुने भएको छ ।
संविधानको एकीकृत प्रारम्भिक मस्यौदालाई संविधानसभामा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सहमति जुटाउन बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले ७ बजे मात्रै बैठक बस्ने सहमति गरेको हो ।
यसअघि, दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो । सभाध्यक्ष सुवास नेम्वाङको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा संविधान मस्यौदा समितिले तयार पारेको मस्यौदाको विषयमा छलफल भएको थियो ।
आइतबार मस्यौदा समितिले पारित गरेको मस्यौदा सभापति कृष्णप्रसाद सिटौलाले आजै केहीबेरमा सभाध्यक्ष नेम्वाङलाई बुझाउने कार्यक्रम छ ।
एकीकृत मस्यौदा तयार भए पनि त्यसको संवैधानिक र कानुनी भाषा तयार पारी अन्तिम रुप दिन बाँकी रहेकाले आज बिहान ११ बजे बुझाउने भनिएको प्रतिवेदन केही केहीबेरपछि सभाध्यक्षलाई बुझाउने सचिवालयले जनाएको छ ।
संविधानसभामा आजै मस्यौदा पेस गरिने र त्यसपछि जनताको सुझावका लागि पठाइने तयारी गरिएको छ । रासस
