समाचारसोमबार, आषाढ १४, २०७२
शीर्ष नेताहरुको बैठक जारी, सभासदहरु खाजा खाँदै
-सइन्द्र राई/कपिल भट्ट
नयाँ संविधानको प्रारम्भिक मस्यौदा पेश हुने संविधानसभा बैठक बस्न सकिरहेको छैन ।
दिउँसो ४ बजेका लागि बोलाइएको बैठक दुई पटक सरेर पनि सुरु हुन सकेको छैन । विवादित केही साना विषयकै कारण साँझ ७ र ९ बजेका लागि स्थगित गरिएको बैठक अझै सुरु हुन सकेको छैन ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ संविधानसभा हलमा शीर्ष नेताहरुलाई पर्खेर बसिरहेका छन्, भने सभासदहरुलाई खाजाको व्यवस्था गरिएको छ । अहिले कोही सभासदहरु खाजाका लागि लाइनमा उभिएका छन् भने काेही भवनभित्र र बाहिर बसिरहेका छन् ।
सात बजे बस्ने भनिएको बैठकका लागि सभासदहरु साँझ ६ बजेतिरै संविधानसभा भवन पुगेका थिए ।
शीर्ष बैठक जारी
नयाँ संविधानको प्रारम्भिक मस्यौदा पहिले भएको सहमति अनुसार नआएको भन्दै एमाओवादीले विरोध जनाएपछि मस्यौदा सभाध्यक्ष नेम्वाङलाई बुझाउने प्रक्रिया रोकिएको छ ।
एमाओवादी स्थायी कमिटी सदस्य अग्नी सापकोटाका अनुसार पुनःसहमति जुटाउन शीर्ष बैठक सुरु भएको छ । विवादित बनेको विषयमा सहमति जुटाउन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बैठकमा सहभागी छन् ।
