समाचारमंगलबार, आषाढ १५, २०७२
संविधानसभामा मस्यौदा पेश, केही सभासदले मस्यौदा च्याते

संविधानसभा बैठकमा संविधानको प्रारम्भिक मस्यौदा पेश भएपछि रोष्टम अघि पुगेर च्यात्दै सभासद विश्वेन्द्र पासवान । तस्वीर: गोपेन राई
संविधानसभा, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले १५ असार राति बसेको संविधानसभाको बैठकमा संविधानको प्रारम्भिक मस्यौदा प्रतिवेदन, २०७२ पेस गरेका छन् ।
सभापति सिटौलाले केही दलको फरक मतसहितको मस्यौदा पेस गरेका हुन् । दलबीच मस्यौदामा सहमति जुट्न नसक्दा आज अपराह्न ३ बजेका लागि निर्धारित बैठक राति ८:१० मा शुरु भएको थियो ।
मस्यौदा पेश भएलगत्तै मधेश केन्द्रित दलका केही सभासदहरुले उठेर विरोध जनाउनुका साथै संविधानको मस्यौदा च्यातेका छन् ।
संविधानसभाको बैठकमा सभासद् कृष्णप्रसाद सिटौलाले संविधानको मस्यौदा पेश गरेपछि मधेश केन्द्रित दलका सभासदहरु रोस्टम अगाडि पुगेर मस्यौदा च्यातेका हुन् । मस्यौदा पेश गरे लगत्तै सभासद सर्वेन्द्रनाथ शुक्ल, विश्वेन्द्र पासवान लगायतका सभासदहरुले रोष्टम नजिक पुगेर मस्यौदाको प्रति च्यातेका थिए ।उनीहरुले ‘संघीयतासहितको संविधान चाहिन्छ’ लगायतका नाराबाजी समेत गरेका थिए ।
हो- हल्लाका बीच सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभा बैठक सकिएको घोषणा गरेपछि उनीहरु नारावाजी गर्दै बाहिर निस्किएका छन् ।
थापाबाट जनमतसङ्ग्रह माग
बैठक शुरु हुनासाथ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापाले नेपालको अन्तरिम संविधान २०६३ को धारा १५७ र संविधानसभा नियमावली १५२ अनुसार सिटौलाले संविधानको मस्यौदा प्रस्तुत हुनु अगावै संवैधानिक राजतन्त्र, हिन्दू राज्य र सङ्घीयताका विषयमा जनमत गर्नुपर्छ भन्ने प्रस्ताव आफूले दर्ता गराएको स्मरण गराए ।
संविधानसभामा कायम रहेको दुई तिहाइ सदस्यले जनमतसङ्ग्रहमा जानुपर्छ भन्ने प्रस्ताव ल्याएमा मात्र त्यसमा जान सकिने भन्दै सभाध्यक्ष नेम्वाङले ती विषयमा कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रस्तुत गरिने प्रतिबद्धता जनाएपछि थापा बसेका थिए ।
केही सभासदहरुको विरोध
त्यसपछि बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानले सर्वोच्च अदालतको आदेश विपरीत गएर प्रस्ताव पेस गरिएको भन्दै मधेशी, जनजाति, दलित तथा पिछडिएका वर्गलाई अधिकार नदिने संविधान आफूहरुलाई मान्य भन्दै विरोध जनाए ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)का रुक्मिणी चौधरीले विगतमा गरिएको सहमति विपरीत मस्यौदा आएको भन्दै आपत्ति प्रकट गरिन् । नेपाली काँग्रेसका प्रदीप गिरी भने बैठकमा नियमापत्ति जनाउँदै बाहिरिएका थिए ।
लामो समयको प्रतीक्षापछि नेपालको संविधानको प्रारम्भिक मस्यौदा तयार भएको बताउँदै समितिका सभापति सिटौलाले नेपाली जनताले नेपाली जनताका लागि सुम्पेको अभिारास्वरुप आफूहरुले निकै लामो समसम्मको मेहनतबाट संविधानको मस्यौदा ल्याउन सफल भएको बैठकलाई बताए ।
उनले प्रजातन्त्रका लागि आफ्नो जीवन समर्पित गरेका बिपी कोइराला, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी आदि नेताको स्मरण गर्दै जनचाहनाबमोजिमको संविधान बनाउन सभासद्हरू लागिपरेको बताए ।
उनले मस्यौदामाथि जनताको रायसुझाव लिन बाँकी रहेको र त्यो क्रमशः संशोधन हुँदै जाने बताउँदै राष्ट्रप्रतिको गहन दायित्व निर्वाह गर्न सभासद्हरू चुक्न नहुनेमा जोड दिएका थिए ।
संविधानसभाको अर्को बैठक १७ असार बिहान ११ बजे बस्ने छ ।
सभाध्यक्ष नेम्वाङलाई मस्यौदा बुझाइयो
यसअघि बेलुका ७ बजे संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले एकीकृत मस्यौदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाएका थिए।
संविधानसभा सचिवालय सिंहदरबारमा सभापति सिटौलाले विभिन्न दलको फरक मतसहितको मस्यौदा १५ असार साँझ बुझाएका हुन् ।
मस्यौदा बुझ्दै सभाध्यक्ष नेम्वाङले नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधानको मस्यौदा प्राप्त भएकामा खुसी व्यक्त गर्दै आजै नेपाली जनताले थाहा पाउने व्यवस्था गरिने जानकारी दिए ।
मस्यौदामा केही दलले फरक मत राखेका छन् । यसरी फरक मत राख्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र केही मधेशवादी दल रहेका छन् । दलहरुबीच लामो समयसम्म संविधान निर्माणमा विषयमा सहमति हुन नसक्दा संविधान निर्माण प्रक्रियाले गति लिन सकेको थिएन ।
कपिल भट्ट
