समाचारबुधबार, आषाढ १६, २०७२
दोलखाः सशस्त्रको क्याम्पमा आक्रमण, चार घाइते
भूकम्प पीडित परिवारलाई दिईने परिचयपत्र र नगद १५ हजार वितरणको क्रममा विवाद हुँदा दोलखाको लामाबगरस्थित शसस्त्र प्रहरीको क्याम्पमा आक्रमण भएको छ ।
मदिरा सेवन गरेर व्यक्तिहरुको समूह आएर एकल महिलालाई छुट्टै परिचयपत्र र नगद दिनुपर्छ भनी होहल्ला गर्दै सशस्त्र प्रहरीको क्याम्पमा आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र पौडेलले बताए ।
१५ असारमा भएको आक्रमणबाट तीन जना प्रहरी र एक जना स्थानीय घाईते भएका छन् ।उनीहरुलाई हेलिकप्टरबाट उपचारको लागि काठमाडौँको बलम्बु अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
आक्रमणका क्रममा परिचयपत्र र नगद बुझ्न आएका स्थानीयलाई बचाउने क्रममा हवल्दार तीर्थबहादुर रानाभाटको गर्धन, प्रहरी जवान हेमराज महतोको टाउको र मुखमा ढुङ्गाले लागेको तथा स्थानिय गुण्डे तमाङ पनि आक्रमणमा परी गम्भीर घाईते भएको जनाईएको छ ।
अर्का घाईते प्रहरी जवान इश्वर वस्नेतको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।
क्याम्पमा आक्रमण गर्नेको खोजि भै रहेको र परिचयपत्र तथा नगद वितरणको काम जारी रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।
सर्मिला बुढाथोकी
