समाचारशुक्रबार, कार्तिक २४, २०६९

क्षेत्रीय कारागारका १२ कैदी फरार

हिमालखबर

फरार हुनेहरु सात भारतीय, चार नेपाली र एक बङ्गलादेशी नागरिक रहेका कारागार प्रशासनले जनाएको छ ।

उनीहरु डकैती, ज्यान मुद्दा, अपहरण, खोटा नोट चलन र नक्कली नागरिकतालगायतका आपराधिक कार्यमा संलग्न भएको अभियोगमा लामो समयदेखि कारागार जीवन बिताउँदै आएका थिए ।

फरार कैदीमध्ये कारागारका चौकीदारसमेत रहेका बङ्गलादेशी नागरिक अस्रफ अलि अन्सारी विभिन्न अपराधमा संलग्न रहँदै आएका कुख्यात व्यक्ति हुन् । अन्य कैदीहरुमा भारतीय नागरिक सरफराज मिया, दिनेश भनिने बमबम यादव, धीरेन्द्र यादव, मुमताज मिया, जाकिर मिया, सुवास मिया, सुवास झा तथा नेपाली नागरिक रमेश यादव, विनायक यादव, फारुक मिया राय र रमेश सदा रहेका छन् ।

कारागारको बुर्जा नम्बर २ र ४ को बीच भागमा रहेको खुल्ला स्थानमा सुरुङ खनेर फरार कैदीहरु रातको १२ देखि १ बजेको समयमा भागेको प्रहरीले अनुमान गरेको छ ।

कारागारमा रहेका अन्य कैदीले प्रहरी प्रशासनकै मिलेमतोमा कैदीहरु भागेको आरोप लगाएका छन् । कारागारमा कुल ६१५ कैदी रहेकामा बिहान ५ बजे प्रहरीले रोलकल गर्दा कैदी सङ्ख्या नपुगेपछि मात्र बाहिरी प्रशासनले कैदी फरार भएको अनुमान लगाएको थियो ।

नेपाल र भारतमा समेत थुप्रै अपराध गरेका र दुवै देशमा खोजीको सूचीमा रहेका कैदीहरु मिलेर एक वर्षदेखि सो क्षेत्रमा सुरुङ बनाउने योजना बनाएको हुन सक्ने जानकारी दिँदै त्यहाँ रहेका कैदीले सो क्षेत्रमा कसैलाई पनि जान नदिने गरेको बताएका छन् ।

उनीहरुले सुरुङ खन्नका लागि पस्नी, फलामको डन्डी, खुर्पी, सावेललगायतका उपकरण प्रयोग गरेको फेला परेको छ ।
कैदीहरु फरार भएको विषयमा प्रहरी प्रशासन गम्भीर रहेको बताउँदै पूर्व क्षेत्रीय प्रहरी प्रमुख पर्शुराम खत्रीले फरार कैदीको खोजीका लागि सीमा नाकाहरु सिल गरिएको र खोजी कार्यलाई तीव्र पारिएको जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>