समाचारबुधबार, आषाढ १६, २०७२
लिपुलेक सम्झौतालाई गम्भीरतापूर्वक लिएको छु: प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेक सम्झौतालाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।
युवा सङ्घ नेपालका उपाध्यक्ष दिलु पन्त सहितको नेतृत्वमा प्रधानन्त्री कोइरालालाई लिपुलेक सम्झौताका विषयमा ध्यानाकर्षणपत्र बुझाउन गएको टोलीसँग प्रधानमन्त्री कोइरालाले आजै त्यसबारेमा आफूले परराष्ट्रमन्त्री र कूटनीतिक नियोगसँग कुरा गर्ने बताए ।
उनले भने, “राष्ट्रियतामाथि भएको अन्यायलाई युवाले आवाज उठाउनु राम्रो कुरा हो, यो सम्झौतालाई मैले पनि गम्भीर रुपमा लिएको छु ।”
भारत र चीनबीच भएको लिपुलेक सम्झौतालाई लिएर सङ्घका उपाध्यक्ष पन्तले लिपुलेक सम्झौता सच्याउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने, यदि सम्झौता नसच्याए कडारुपमा आन्दोलनमा उत्रिने चेतावनी दिएकी थिइन् ।
सङ्घले प्रधानमन्त्री कोइरालालाई बुझाएको ध्यानाकर्षणपत्रमा भारत र चीन बीचमा २०१५ मे १५ मा लिपुलेक व्यापारिक सम्झौताले नेपालको भौगोलिक अखण्डतामाथि धावा बोलेको निष्कर्ष निकाल्दै उक्त सम्झौता आफूहरुलाई मान्य नहुने उल्लेख गरेको छ ।
रासस
