समाचारबिहीबार, आषाढ १७, २०७२
कृषिमन्त्री पराजुलीद्वारा राजीनामा
मुलपानीमा धान दिवस मनाउँदा महिलामाथि अशिष्ट व्यवहार गरेको आरोप लागेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले मन्त्री पदबाट राजीनामा गरेका छन् ।
१७ असार विहान पराजुलीले एमाले अध्यक्ष केपी ओलीलाई राजीनामा बारे जानकारी गराएका हुन् । राजीनामा पत्रमा उनले ‘मिडियाले गलत प्रचार गरेका कारण आफू माथि सार्वजनिक रुपमा प्रश्न उठेको’ दाबी गरेका छन् ।
पराजुलीले राजीनामा गरेकाे उनका स्वकीय सचिव हेमचन्द्र पोखरेलले पनि पुष्टि गरे । “मन्त्रीज्यू अहिले प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नु भएको छ, राजीनामा स्वीकृत भने भइसकेको छैन,” पोखरेलले भने ।
१६ असारमै मुलपानी घटनाबारे स्पष्टिकरण दिन अध्यक्ष ओली निवासमा पुगेका पराजुलीसँग ओलीले राजीनामा मागेका थिए ।
१५ असारमा काठमाडौंको मुलपानीमा धान दिवस मनाउने क्रममा पराजुलीले महिलामाथि अशोभनीय र अमर्यादित व्यवहार गरेको आरोप लागेको छ ।
यद्यपी मन्त्री पराजुलीका स्वकीय सचिवले मुलपानी घटना मिडियामा आए जस्तो नभएको र त्यसको गलत प्रचारबाजी भएको दाबी गरे । उनले भने, “सम्बन्धित महिलाहरुसँगै गएर बुझेको भए पनि हुन्थ्यो, एकतर्फी प्रचारको काम मात्रै भयो ।”
