समाचारबिहीबार, आषाढ १७, २०७२
‘बहुलवाद’ शब्द नराखेकोमा कांग्रेस सभासदहरुद्वारा नेतृत्वको आलोचना
कांग्रेस सभासदहरुले संविधानको प्रारम्भिक मस्यौदाको प्रस्तावनामा बहुलबाद शब्द नराखेकोे भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
१७ असार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा सहभागी अधिकांश सभासदले ‘कम्युनिष्टहरु सामू आत्मसमर्पण गरेर’ संविधानको प्रारम्भिक मस्यौदा– २०७२ मा बहुलबाद शब्द नराखिएको भन्दै आपत्ति जनाएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले बहुलबाद शब्द हटाउने भूमिका खेल्ने नेतृत्वले वीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद कोइरालाका नाम लिन नहुने बताए ।
कांग्रेसकै मधेशी सभसादहरुले भने पार्टीले अदालतको आदेश नमान्नु दुखद भएको बताएका थिए । सभासद् एवम् मन्त्री विमलेन्द्र निधिलगायतले अदालतको आदेश अनुसार संघीयताको नाम र सीमा समेत संविधानसभाले टुंग्याउनु पर्ने बताएका थिए ।
उनीहरुले सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गरिएको भन्दै प्रदेशहरुको सिमांकन र नामाङ्कन सहितको संविधान जारी हुनुपर्ने धारणा राखेका थिए ।
कांग्रेस संसदीय दलको अर्को बैठक १८ असार विहान पनि बस्नेछ ।
