समाचारबिहीबार, आषाढ १७, २०७२
कार्य व्यवस्था परामर्स समितिको बैठक बस्दै
संविधानसभाको नयाँ कार्यतालिका तय गर्न कार्य व्यवस्था परामर्स समितिको बैठक अहिले संविधानसभा भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
१६ बुँदे राजनीतिक सहमतिपछि खुलेको संविधान निर्माण प्रक्रियालाई छोटो बाटो अवलम्बन गर्न बैठक बसिरहेको हो । संविधानको प्रारम्भिक मस्यौदा तय भइसके पनि संविधानसभाले नयाँ कार्यतालिका तय नगरेको गुनासो मधेश केन्द्रीत दलहरुले गरेपछि अहिले बैठक बसिरहेको छ ।
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शीवजी यादवका अनुसार सभाध्यक्षको कार्यकक्षमा जारी बैठकले नयाँ कार्य तालिका तय गर्नेछ । परामर्स समितिको बैठकपछि संविधानसभाको बैठक सुरु हुँदैछ ।
मस्यौदा समितिले संविधानसभामा पेश गरेको प्रारम्भिक मस्यौदामाथि सभासदहरुले धारणा राख्नेछन् । प्रमुख दलहरुले छोटो बाटो अवलम्बन गरेर संविधान जारी गर्ने तयारी गरिरहेका छन् भने केही सभासदले यसको विरोध जनाएका छन् ।
