समाचारशुक्रबार, आषाढ १८, २०७२
बस र ट्रयाक्टर ठोक्किंदा एकको मृत्यु, दुई घाइते
बाराको गढीमाई नगरपालिकामा बस र ट्रयाक्टर एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
वीरगञ्ज–पथलैया सडक अन्तर्गत बाराको गढीमाई नगरपालिका–१० मा बस र ट्रयाक्टर ठोक्किदा ट्रयाक्टरका मजदुर गढीमाई नगरपालिका– ९ का २६ वर्षीय कन्हैया महतोको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना ५ ख ३०९९ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ना १ त ९१५० नम्बरको ट्रयाक्टर ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा ट्रयाक्टर चालक गढीमाई नगरपालिका–१० का ३५ बर्षका राजनाथ दास र मजदुर विनय गिरीको अवस्था गम्भीर रहेको छ ।
नारायाणी अस्पताल स्रोतका अनुसार दास टाउको, निधार, खुट्टा र भित्रि शरीरमा चोट लागेको छ भने मजदुर विनय गिरी अनुहार हात र भित्रि शरीरमा चोट लागेको छ ।
दुवै घाइतेहरुलाई वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेजमा रिफर गरिएको नारायणी उपक्षेत्रीय अस्पताल प्रहरी बीटका प्रहरी सहायक निरीक्षक हस्त बहादुर तामाङ्ले जानकारी दिए ।
सुरेश बिडारी, वीरगञ्ज
