समाचारशुक्रबार, कार्तिक २४, २०६९
भाइटीकाको साइत ११ बजेर २३ मिनेटमा
पाँच दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) २६ कार्तिकबाट शुरु हुँदैछ ।
पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना भई बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।
यसदिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास छ ।
वैदिक कालमा बलि राजाले आफ्नो राज्यभर झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने बरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यो पर्वसँग जोडिएको छ ।
नेवारी भाषामा ‘स्वन्ति नखः’ भनिने यमपञ्चकका बेला यमराजको सम्मानमा आ–आफ्नो घर सफासुग्घर राखी, पारस्परिक द्वेषभाव हटाई दीपावलीका साथ पूजाआजा गर्नाले त्यस घरमा मानिसको अकाल मृत्यु नहुने धार्मिक ग्रन्थमा उल्लेख छ ।
