समाचारशुक्रबार, आषाढ १८, २०७२
संविधानसभामा झण्डै ५ घण्टादेखि लगातार नाराबाजी
मौलिक हकमा धर्म परिवर्तनको हक राखिएको र स्थानीय चुनावको मिति निर्धारण नभएको विरोधमा राप्रपा नेपालले झण्डै पाँच घण्टायता लगातार नाराबाजी गरिरहेको छ ।
१८ असार दिउँसो १ बजे बैठक सुरु हुनासाथ आपत्ति जनाउँदै रोष्टम घेर्न पुगेका राप्रपा नेपालका सभासदहरुले लगातार नाराबाजी गरिरहेपछि संविधानसभा अवरुद्ध भएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बैठक स्थगित गरेका छैनन् भने कामकार्बाही पनि अघि बढाएका छैनन् ।
संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीमगरलाई बैठकको अध्यक्षता गर्न दिएर बाहिर निस्किएका सभाध्यक्ष नेम्वाङ भर्खरै पुनःबैठकमा प्रवेश गरेका छन् । तर, राप्रपा नेपालका सभासद्हरुले नारावाजी रोकेका छैनन् ।
मस्यौदा समितिले तयार पारेको नयाँ संविधानको प्रारम्भिक मस्यौदा राजपत्रमा प्रकाशित गरिओस् भन्ने प्रस्ताव राख्न एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेललाई सभाध्यक्ष नेम्वाङले समय दिएलगत्तै राप्रपा नेपालले विरोध थालेका थिए ।
