समाचारशुक्रबार, आषाढ १८, २०७२
नाराबाजीपछि राप्रपा नेपाल तोडफोडमै उत्रियो
लगातार ६ घण्टाको नाराबाजीपछि राप्रपा नेपालले संविधानसभामा तोडफोड गरेको छ ।
संविधानसभाको चौथो ठूलो शक्तिलाई अपमान गर्दै संविधानसभा अघि बढेको भन्दै राप्रपा नेपालका सभासदहरु तोडफोडमा उत्रिएका थिए । पटक–पटक संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नाराबाजी स्थगित गर्न आग्रह गर्दा पनि राप्रपा नेपालले नाराबाजी नरोकेपछि प्रक्रिया अघि बढाइएको थियो ।
मस्यौदा समितिले पेश गरेको मस्यौदामाथि सभासदहरुले धारणा राख्न थालेपछि राप्रपा नेपालका सभासदहरुले माइक्रोफोन तोडफोड गर्ने, कुर्सीमाथि चढ्ने र मर्यादापालकमाथि हातपात गरेका थिए ।
धार्मिक परिवर्तनको अधिकार नयाँ संविधानको मस्यौदाबाट हटाउनुपर्ने र स्थानीय चुनावको मिति तोक्नुपर्ने माग राख्दै राप्रपा नेपालका सभासदहरुले दिउँसो १ बजेपछि सुरु भएको बैठकमा लगातार ६ घण्टा नाराबाजी गरेका थिए ।
संविधानसभाभित्र प्रधानमन्त्रीको कुर्सीमाथि समेत चढेका राप्रपा नेपालका सभासदहरुले ५ माघ राति तोडफोडमा उत्रिएका सभासदहरुलाई पहिले कार्बाही गर्नुपर्ने चेतावनी दिए । ५ माघ राति एमाओवादीसहितका सभासदहरुले तोडफोड गरेका थिए ।
