समाचारसोमबार, आषाढ २१, २०७२
जनताको सुझाव लिनै पर्छः नेता नेपाल
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधानबारे सुझाव लिन जनतामा जानै पर्ने बताएका छन् । २१ असारमा बसेको संविधानसभा बैठकमा संविधानको मस्यौदाबारे धारणा राख्ने क्रममा उनले यस्तो भनाई राखेका हुन ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले छोटो समयका लागि भए पनि सुझाव संकलन गर्न जानुपर्ने बताएका हुन । केही प्रावधान परिमार्जन गरेर मस्यौदालाई पूर्णता दिनुपर्ने उनको भनाई थियो ।
बैठकमा बोल्दै नेपाली काँग्रेस नेता भीष्मराज आङदम्बेले कसैको सानातिना विमती भए पनि संविधान छिटो जारी गर्नुको विकल्प नरहेको बताए । उनले मस्यौदा तेस्रो लिंगीको अधिकारको विषयमा प्रष्ट नभएको भन्दै आपत्ती जनाए ।
एमाओवादी नेता अग्नि खरेलले मस्यौदाको जगको रुपमा रहेको १६ बुँदे सहमति कसैको दवावमा नभई नेपालीहरु आफैले गरेको बताए ।
यसैबीच चार मधेशवादी दलले आज पनि संविधानसभा बैठक बहिस्कार गरेका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता विनाको संविधान ल्याउन लागेको, अन्तरिम संविधानमा प्रत्याभूत गरेका कुरा समेत संविधानमा नपरेकाले आफूहरुले बैठक बहिस्कार गरेको बताए ।
बैठक संघीय समाजवादी फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी र तराई मधेश सदभावना पार्टीले बहिस्कार गरेका हुन ।
