समाचारशुक्रबार, आषाढ २५, २०७२

विपक्षीसँग वार्ता जारीः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियाबारे विपक्षी दलहरुसँग बार्ता भइरहेको बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भने, “१६ बुँदे सहमतिमा असहमत दलहरुसँग कुराकानी भइरहेको छ, सवैलाई समेटेर संविधान जारी हुन्छ ।” संविधान निर्माण प्रक्रियामा मधेश केन्द्रीत चार दल र राप्रपा नेपालले असहमति जनाउँदै आएका छन् ।

उनले मुलुकले द्वन्द्व र अन्योल थेग्न नसक्ने भएकाले शान्ति, स्थायित्व र लोकतन्त्र संस्थागत गर्न सवैले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको चर्चा गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलाल र बीपी कोइरालाजस्ता आदर्श पुरुषको जीवनी र व्यक्तित्वबाट नयाँ पुस्ताले आफ्नो जीवनलाई बदल्न सक्नुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री नेपालले भूकम्पपछिको पुनःनिर्माण गर्ने गरी सरकारको नीति, कार्यक्रम तथा बजेटमार्फत भौतिक संरचना निर्माण, जलविद्युत् आयोजना निर्माण, पर्यटन पुनःरुत्थान, विमानस्थल निर्माण, कृषिको व्यावसायीकरण जस्ता राष्ट्रिय गौरवका आयोजना दीर्घकालीन रुपका (अर्को सरकार आउँदा नबदलिने) हुनुपर्ने बताए ।

तीन स्रष्टा पुरस्कृत
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले यो बर्ष संस्कृति, राजनीति र अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान दिने तीन जनालाई ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’बाट पुरस्कृत गरेको छ ।

मन्त्रालयबाट प्रत्येक वर्ष दिइने यो पुरस्कारबाट संस्कृतिविद् डा सत्यमोहन जोशी, नेकपा एमालेका नेत्री शान्ता चौधरी र भारतको पटना विश्वविद्यालयका प्राध्यापक डा.राजेन्द्र रामलाई पुरस्कृत गरिएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले सत्यमोहन जोसीलाई नेपाली भाषा र संस्कृतिको संरक्षण, नेत्री चौधरीलाई भूमिहीन, कमैया, कमलरीलगायतका विपन्न वर्गको उत्थान र प्रा.डा. रामलाई पुष्पलालको विषयमा खोज अनुसन्धान गरी योगदान पुर्‍याएबापत एक÷एक लाख नगद पुरस्कारबाट सम्मान गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>